काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । गए रातिदेखि लागु हुनेगरी नेपाल आयल निगम लिमिटेडले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल एवं मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य बढाएको हाे । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर २२ अमेरिकी डलरले घटाईएको निगमले जनाएको छ । यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ। खाना पकाउने एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोरशनबाट मे ३१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसाले मूल्य बढेर आएकोले स्वचालित मूल्य अनुसार नेपालमा पनि मूल्य बढ्न पुगेको निगमले दिएको जानकारीले प्रष्ट पारेको छ ।
नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको १४३ रुपैयाँ पर्दछ ।






















