skip this News Page Tips Ad Road Block

बुद्धिजीवी परिषद महाधिवेशनः एमाले अध्यक्ष ओलीले भने आगामी निर्वाचनमा एमालेको एकल बहुमत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए ।

“भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरुले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे । विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने । यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो ।” अध्यक्ष ओलीले भने, “व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ । यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ ।”

उनले देशमा संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरे । “म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ ।”, अध्यक्ष ओलीले भने, “जे मा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईँहरु बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस् । सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।”

एमालेले राष्ट्रिय एकतालाई सर्वोपरी ठान्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने टिप्पणी गरे ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत सहभागी कार्यक्रममा विभिन्न विधाका बुद्धीजीवीलाई सम्मान प्रदान गरिएको थियो ।

Health Tips Ad Road Block