skip this News Page Tips Ad Road Block

एभरेष्ट समिटियर सम्मेलनः ‘हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गरेका छन् । एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् । सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ।’ उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्‍याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरे । ‘उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,’ मन्त्री पाण्डेले थपे ।

सरकार पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए । साथै, पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उनले जनाए ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, ‘यी हिमालहरू पवित्र छन् र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।’

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गर्दै उनले भने, ‘अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ।’ उनले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

आयोजक एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीको विशेष जमघट भएको बताए । आयोजकले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीयलगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकर तथा पर्वतीय संस्कृतिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा उपस्थित गराएर दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण र स्थानीय समुदायको उत्थानबारे अन्तर्राष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर प्रदान गरेको जनाएकाे छ ।

सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुकका नागरिकहरु सहभागी छन् ।

सम्मेलनका क्रममा स्वदेशीदेखि विदेशी पर्वतारोहीलाई सम्मान गएिको थियो ।

Health Tips Ad Road Block