Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मदिराजन्य सामग्रीहरुको विज्ञापन रोक्नुहुँदैनः आन पूर्वअध्यक्ष पौडेल

विज्ञापनको बजार बढाउन ध्यान दिनुपर्ने पक्षहरु यस्ता छन् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको विज्ञापन बजार हिजोको तुलनामा आज घटिरहेको सर्वत्र कुरा उठिरहेको छ । कसैले डिजीटल माध्यमतिर बजारकाे पैसा गयो भन्छन् त कसैले विज्ञापन नै घट्यो । आर्थिक गतिबिधि चलायमान नहुँदा यसमा असर परेको पनि भनिएकाे छ । करिब २० अर्बको नेपालको विज्ञापन बजार भनेर विभिन्न सार्वजनिक फोरममा यस क्षेत्रका जानाकारहरुले भन्ने गरेका छन् । यो २० अर्बको बजार आज कता छ त ? किन बजार विस्तार हुन सकिरहेको छैन ?  लगायत विज्ञापन बजारका सन्दर्भमा प्रस्तुत छ, नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष निर्मलराज पौडेलसँग अर्थ प्रणाली डट कमले गरेको कुराकानीको संपादित अंश

नेपालको विज्ञापन बजार हिजो र आज

हिजोको दिनको विज्ञापन बजार र आजको विज्ञापन बजारको तुलना गर्दा अरु मुलुकमा क्रमिक रुपमा बढ्ने क्रममा देखिन्छ । नेपालमा पनि आजभन्दा १५ देखि २० वर्ष अगाडिसम्म क्रमिकरुपमा प्रतिवर्ष १० देखि १५ प्रतिशतसम्म बजार विस्तार हुँदै गइरहेको थियो । जब नेपालमा महाभूकम्प आयो त्यसपछि बिग्रिने क्रम सुरु भयो र राष्ट्र बैंकले आफ्ना नीतिहरु परिवर्तन गर्न थाल्यो । त्यतिबेलासम्म हायर पर्चेजमा गाडीहरु धेरै बिक्री हुने गर्दथे । जग्गामा सबै लगानी हुने गर्दथ्यो । पछि सरकारले कित्ताकाट रोकिदियो । चारदेखि ६ वर्षसम्म जग्गाको कित्ताकाट रोकिदिँदा यो व्यवसाय एकदमै धराशायी हुन पुग्यो । त्यो एउटा कारणले गर्दा धेरै क्षेत्रमा असर गर्यो, किनभने सबैले जग्गामा लगानी गरेका थिए ।

अहिले सहकारीको बिग्रँदो अवस्था आएको पनि त्यही जग्गाको कारणले हो । सबैले जग्गामा लगानी गरेका थिए । ती जग्गाहरू अड्किए । त्यो बेलामा सरकारको अकर्मण्यताका कारण त्यसको असर कहाँसम्म पुग्छ भन्ने नहेरिदिँदा क्रमिकरुपमा राष्ट्र बैंकको नीतिपछि जग्गाको कित्ताकाट नखुल्नाले विस्तारै विस्तारै नागरिकका पैसाहरू फ्रिज (थुप्रिन) हुन थाले । मानिसको क्रयशक्ति घट्दै जान थाल्यो ।

पहिला खुल्ला प्रतिस्पर्धा थियो र उचित वातावरण थियो । त्यसलाई विज्ञापनको सुनौलो युग भनेर भनिन्थ्यो । महाभूकम्पपछि घटेको यो क्रम कोरोनामा थप घट्यो । विस्तारै युवाहरु पलायन भएर विदेश जान थाले । यसले देशभित्र खर्च गर्ने जनशक्ति कम हुँदै गयो । त्यस कारण पनि अहिलेको विज्ञापन उद्योग त्यो बेलादेखि अहिलेसम्म घट्दै गएको अवस्था छ ।

विज्ञापन उद्योग विस्तारका लागि नीतिगत परिवर्तन र अनिवार्य विज्ञापन 

अब विज्ञापन उद्योगलाई परिस्कृत र परिमार्जित गराउने हो भने नीतिहरुमा परिमार्जन गर्नुपर्ने हुन्छ । नेपाल सानो मुलुक छ तर प्रचुर सम्भावना भएको ठाउँ हो । यहाँ दुई/चार वटा नीतिमा परिमार्जन गरेर उद्योगी, व्यापारीलाई अनिवार्यरुपमा विज्ञापन गर्नुपर्ने कुराहरू गराउनु पर्दछ । वर्तमान समयमा कसैले पनि केही कुरामा जिम्मेवारी लिइरहेको पाइँदैन । कसैलाई केही मतलब छैन । यहाँ कर्मचारीले काम नै गरेको छैन । सरकार परिवर्तन भइरहने मुख्य समस्या छ । सरकार आफैं टिकाउनुपर्ने अवस्था छ । यी यावत कुराले अहिलेको अवस्था निम्तिएको हो ।

विज्ञापन बजार अहिले खुम्चिएको हो कि पहिल्यै ?

हामी आन अध्यक्ष भएको अवस्थामा सर्वेक्षण गर्दा ५ अर्ब रुपैयाँको नेपालकाे बजार थियो । पछि बढ्दै गएर ९ अर्ब रुपैयाँसम्मको बजार बनेकाे थियो । त्यो पनि क्रमिक रुपमा बढ्दै गएर ११ अर्बसम्म पुगेको हामीलाई थाहा छ । कसैले १७–१८ अर्बको बजार पनि भन्ने गर्दछन् । प्रत्यक्ष/ अप्रत्यक्षरूपमा गर्दा १४ अर्ब रुपैयाँसम्मको बजार थियो । पछि सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरुका कारणले गर्दा परम्परागत संचार माध्यमलाई अलिकति अप्ठ्यारो अवस्था पर्यो । तापनि बजेट ती प्लेटफर्महरुमा ट्रान्सफर भएको होइन बजेट खुम्चिएरै गएको हो । अहिले त बजार यति छ भनेर भनेर आँकडा निकाल्न सक्ने अवस्था छैन । छापा माध्यम, टेलिभिजन, रेडियोको अवस्था हेरेर मात्रै बजार यति नै हो भन्ने स्थिति छैन ।

सञ्चार माध्यमलाई प्रविधि चुनौती हो ?

अब अहिले एआई प्रविधि आइसकेको छ । प्रविधिको द्रुत विकास भएको छ । यस्तो अवस्थामा हामीले नयाँ–नयाँ प्रविधिलाई स्वीकार गर्दै जानुपर्दछ । त्यो आफ्नो ठाउँमा छँदै छ । आज कुनै पनि जनशक्ति नचाहिने एआई यस्तो प्रविधि आइदियो कि उसैले सबै चिज गरिदिनेछ । मानिसको प्रतिस्थापन गरेर बेरोजगारको सङ्ख्या बढाइदिने स्थिति सिर्जना भएको छ । जसले प्रविधिलाई जानेको छ त्यो मात्रै माथि जाने स्थिति छ । अरु सबै बेरोजगार हुने अवस्था सिर्जना भएको छ । उदाहरणकोरुपमा एउटा अफिस(कार्यालय)मा काम गर्ने एकजना व्यक्ति छन् । उनको अल्लारे भन्ने पेज भाइरल भइरहेको छ । एआईको प्रयोगबाट बनाइने त्यस्ता सामग्रीहरूले सीमित वर्गका लागि मात्र अहिले फाइदा भएको छ । समग्र उद्योगको लागि हेर्ने हो भने नयाँ–नयाँ प्रविधिले विज्ञापन उद्योगलाई अप्ठ्यारो पारेको छ ।

अबको विज्ञापन बजार कता जाला ?

अब समग्र विज्ञापन बजार यतै जाला भन्न सकिँदैन । सबै चिज परम्परागत र पुस्तामा ग्याप देखिन्छ । मुख्य कुरा ट्रेन्ड चेन्ज भयो तर यो परिवर्तनमा बजार त हुनुपर्दछ । अहिले पुरानो प्रविधि घट्दै जाने र नयाँ प्रविधि बढ्दै जाने अवस्था हो । आज सबैले भन्छन् डिजिटल मिडियाले सबै खाइदियो भनेर । सबै गयो भनिएको छ । त्यो होइन । वास्तवमा डिजिटल मिडियाले सबै खाइदियो भनिएको छ त्यो हुँदै होइन । कति खाइदियो ? कति लग्यो ? कति भयो ? २ अर्ब, ३ अर्ब ? हाम्रो १४ अर्बको बजार खोई त ?

कहाँ गयो त यो बजार ?

यहाँ सिण्डिकेट लगाइरहेका छन् । व्यापारीले व्यापार नै गरेको छैन । बैंकले विज्ञापनको नाममा अरु–अरु बजेट भनेर विज्ञापन गरिरहेको छैन । बैंकले बजेट भनेको छ तर विज्ञापन नै गरेको छैन । अरु–अरु शीर्षकमा बजेट खर्च गरिरहेको छ । अहिले कसैले पनि विज्ञापन गरिरहेको अवस्था नै छैन । विज्ञापन दातामा पनि सबैतिर आतंक छ ।

आज विज्ञापन दाता पनि एउटै, व्यवसायी पनि एउटै, बैंकर्स पनि एउटै, उद्योगी पनि एउटै, विवादित व्यक्ति पनि एउटै घरानाका भएका कारणले गर्दा अहिलेको अवस्था सिर्जना भएको हो । यो ट्रेन्ड विस्तारै परिवर्तन हुँदै जाने हो भने बजार बढ्ने निश्चित छ ।

राज्यलाई विज्ञापन बापतको रकम नआउनु विकृति हो कि होइन, टुलुटुलु हेरेर बस्न मिल्छ ?

हामी एग्रेसिभली(आक्रामकरुपमा) लागेर विज्ञापन बोर्ड चाहियो भनेर भन्यौं । नीतिको लागि भनेर यो बोर्डको माग गरिएको हो । आफ्नो घाँटीमा दाम्लो लगाएर किलामा बाँधिदेउ भनेर हामीले यो भनेका थियौँ । त्यो बोर्डले विज्ञापनसम्बन्धी नीति बनाउँछ र सबै विकृति विसंगति समाधान गर्दै जानेछ भनेर भनिएपनि त्यसको ठ्याक्कै विपरीत कार्य मात्रै आज भएको पाइन्छ । विज्ञापन बोर्ड त गठन भयो तर बोर्डलाई पार्टीको भर्ती केन्द्र मात्र बनाइयो । आज बोर्डमा विज्ञापनको ज्ञान भएको मान्छे एउटा पनि नहुँदा समस्या छ ।

त्यसोभए के विज्ञापन बोर्डकाे काम छैन त ?

विज्ञापन बोर्डको काम छ तर र त्यो बोर्डमा विज्ञापनको विज्ञ, सम्बन्धित क्षेत्रका विज्ञहरुलाई राख्नुपर्ने हुन्छ । नेपाल विज्ञापन संघ (आन) ले पहल गरेर नै विज्ञापन बोर्ड गठन भएको हो । हामीले क्लिन फिड भनेर माग गर्यौं तर जुन क्लिन फिड माग गर्यौं अहिले आएर यसैमार्फत विज्ञापन क्षेत्रलाई ठग्ने काम भइरहेको छ । त्यही विज्ञापन गर्ने ठाउँमा बीचबीचमा कार्यक्रमको प्रोमो बजाएर आज मानिसलाई मोनोटोनस गराएर ठग्ने काम भएको छ । बरु त्यही विदेशी विज्ञापन हेर्न पाउँदा मानिसमा ज्ञान त बढ्ने अवस्था थियो । अहिले धेरै विद्यार्थीहरुले यो विषयलाई लिएर हामीलाई गाली गर्ने पनि गर्दछन् । यो अहिले सबै विकृति भइरहेको छ । हो यस्ता विषयमा नियमन/अनुगमन हुनुपर्दछ । यसमा सरकारको दूरदर्शी सोच चाहिनेछ ।

विज्ञापन बजार २० अर्बको बनाउन के गर्नुपर्ला ?

समग्ररूपमा हेरेर ल्याउँदा १४–१५ देखि २० अर्बको विज्ञापन बजार भनेको ठूलो बजार होइन । भारतमा एउटै विज्ञापन एजेन्सीले त्योभन्दा बढी कारोबार गर्दछन् । यसलाई नियमन गर्ने निकाय नै अलि बढी सक्रिय भएर लाग्नुपर्दछ । आज विभिन्न मदिराजन्य सामग्रीहरू बेच्न, अन्तशुल्क लिन, सेवनको लागि अनुमति दिने तर विज्ञापन रोक्ने काम भइरहेको छ । यो किन रोक्ने ? उदाहरणको लागि बर्ड वाइजरको विज्ञापन अमेरिका लगायत संसारभर खुल्लारूपमा हुन्छ । हामी कहाँ भने कुनै एउटा घरानाले आफ्नो मदिरा स्थापित भइसकेपछि सरकारलाई केही रकम दिएर बन्द गराउन लगाएका कारण आज बन्द छ । किनभने आफू माथिल्लो तहमा भएपछि अर्को आउन पाउँदैन र पाउन नसकोस् भनेर त्यसैलाई आजसम्म यथावत गरिराखिएको अवस्था छ । त्यसलाई हटाउनुपर्दछ भनेर हामीले पहल गरिरहेका छौं । सरकारले भने नीति बनाउने काम गरिरहेका छैन ।

यदि ‘लेट नाइट कन्सेप्ट’ राखिदिने हो भने मदिराजन्य क्षेत्रमा धेरै नै बजेट रहेको छ । खुल्ला प्रतिस्पर्धा गर्ने हो भने अरु पनि आउन सक्दथे । यहाँ त यिनीहरुले सिन्डिकेट लगाएका छन् । कार्टेलिङ गरेका छन् । आफू स्थापित भइसके पछाडि अरुलाई आउन दिने अवस्था नै भएको छैन । त्यो कारणले गर्दा समस्या भएको हो । सरकारले ‘लेट नाइट कन्सेप्ट’ खुल्ला गरिदिए हुन्छ । अनिवार्यरूपमा आयातित वस्तुहरु कोक, पेप्सी, डाबर लगायत बहुर्राष्ट्रिय कम्पनीहरूको प्रोडक्टमा ५% सम्म विज्ञापन बजेट हुन्छ । यहाँ एक खर्ब जतिको व्यापार गर्नेहरुले ५ अर्बको व्यापार अनिवार्य विज्ञापनमा गर्नुपर्ने भयो भने बजार बढ्ने निश्चित छ । त्यसको कसले नियमन गर्ने ? यहाँ कुनै पनि उत्पादन नहुने देशमा आयतित सामानमा अनिवार्यरुपमा विज्ञापन गर्नुपर्दछ । विज्ञापन गरेमा भन्सारमा सहुलियत लगायत विभिन्न विषय गरेमा त्यहीँबाट विज्ञापन बढ्न सक्दछ ।

इन्स्योरेन्स र बैंकहरूले विज्ञापन बजेट भनेर विज्ञापनमै खर्च गर्नुपर्दछ । अर्को खर्चलाई विज्ञापन खर्च भनेर जुन कार्य भइरहेको छ त्यसलाई अनुगमन गरिदिने हो भने त्यो बजेटहरु आउन सक्दछ । यो त साँच्चै नै नीति बनाउन बस्नेहरुमा राम्रो समूह हुने हो भने यो उद्योग २० अर्बको हुनलाई कुनै गाह्रो छैन । सजिलोसँग बन्न सक्दछ । त्यो विज्ञापनमा जो–जो संलग्न हुन्छन् उनीहरूसहित समग्र बजारलाई राम्रो हुनेछ । विज्ञापन बजार बढ्नासाथ सबैको स्तरोन्नति हुनेछ । बजार बढेमा सबै सञ्चार माध्यमले व्यवसाय पाउनेछन् । ती सञ्चारमाध्यमहरू अरूसँग निर्भर हुनु पर्दैन । सञ्चारमाध्यमको उत्थान भयो भने देशलाई फाइदा हुनेछ । चौथो अङ्ग मिडिया अथवा सञ्चार माध्यम अरुसँग निर्भर हुनु परेर नै आज विकृति निम्तिरहेको छ । कुनै विदेशी दातृ निकायमा बिकिरहेका पनि पाइन्छन् । त्यो अवस्थामा मिडियाहरू पनि बदनाम भइरहेका छन् । आत्मनिर्भर सञ्चारमाध्यम हुन सक्यो भने मुलुकको लागि प्रतिष्ठाको विषय रहन्छ । सबै सुसूचित हुने स्थिति बन्दछ । समाचारमा पनि स्वस्थ प्रतिस्पर्धा हुनेछ र अस्वस्थ प्रतिस्पर्धा हटेर जानेछ ।

विज्ञापन एजेन्सीको ८५% शेयर होल्डर सञ्चारमाध्यम हो । विज्ञापनको बजेट बढ्नु भनेको ८५% सञ्चार माध्यमको बजेट बढ्नु हो भने १५% विज्ञापन एजेन्सीको बढ्नु हो । विज्ञापनको बजार भनेको एजेन्सीको बजार अथवा बजेट होइन संचार माध्यमको बजार हो । सञ्चारमाध्यमको एउटा सानो भाग मात्रै विज्ञापन एजेन्सीहरू हुन् । हामीले त्यसरी हेर्नुपर्दछ । समग्रमा यो बजारलाई माथि लैजान सबै लाग्नुपर्दछ ।

Health Tips Ad Road Block