काठमाडौं । यो वर्ष पानी पनि धेरै पर्ने र गर्मी पनि धेरै हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको हो । विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।
विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा एवम् गर्मी हुने सम्भावना रहेको जानकारी दिएकी हुन् । मौसमविद् पोख्रेलका अनुसार यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुनेछ ।
विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन् । उनले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताइन्। यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकाले तयारी अवस्थामा बस्नुपर्ने उनको भनाइ छ । मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास उनको रहेको छ ।
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र दुई सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले उल्लेख गरेको छ ।






















