काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टचारको अब अख्तियारले छानबिन गर्ने भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा करिब १० अर्ब रुपैयाँ बराबरको हिनामिना भएको निष्कर्षसहित छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । समितिले पोखरा विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा समिति सदस्य एवं राप्रपाका सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई निर्देशन गरेको हो ।
उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई भनिएको बताइएको छ ।






















