काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्सरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन गरेको छ । समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा।डा।ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का सदस्य रहेका छन् । उच्चस्तरीय समितिका पदाधिकारीहरुलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्षरुपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गरे ।
समितिलाई ९० दिनको कार्यअवधी दिएको छ।
नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनहरुले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्सरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रीपरिषदको हालै बसेको बैठकले स्वीकृती दिएको थियो।
उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्तर्गतका ऐन, नियम ,नीति लगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरुको समीक्षा गर्ने, अन्य देशहरुमा यस सम्वन्धी भए गरेका असल अभ्यासहरुको अध्ययन गर्ने, संघीयताको भावना र मर्म अनुरुप समयसापेक्ष रुपमा नार्कलाई रुपान्तरण गर्न, वैज्ञानिकहरुको दीर्घकालीन संलग्ता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ ।






















