काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्दा लाग्ने समयलाई घटाएको छ । सार्वजनिक खरिद नियमावली–२०६४ को १४ औं संशोधनमार्फत पहिलो पटक रासायनिक मल खरिदसम्वन्धी प्रावधान समेटीएको हो । संशोधित नियमावली वैशाख १५ गतेको राजपत्रमा प्रकाशित गरिएको छ ।
संशोधित नियमावलीले रासायनिक मल खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति,र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रियस्तर वा अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख छ । त्यस्तै नियमावलीमा बोलपत्रदाताले पेस गरेको प्राविधिक प्रस्ताव खोलेको मितिदेखि ३० दिनसम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने प्रतिबन्धात्मक नियम पनि थप गरिएको छ। मल खरिद प्रक्रिया लामो भएकाले यसलाई सहज बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको पहलमार्फत खरिद नियमावलीको संशोधनमा यस्तो प्रावधान राखिएको हो । रासायनिक मल खरिद प्रक्रिया लामो समय लाग्ने तर अन्तर्राष्ट्रिय बजारमा छिटो–छिटो मूल्य परिवर्तन हुने अहिलेको अवस्थालाई घटाउने गरी नियमावली संशोधन भएको मन्त्रालयले जनाएको छ।
खरिद प्रक्रिया लामो हुँदा समयमै मल आयात गर्न सकिएको थिएन जस कारण किसानले समयमै रासायनिक मल पाउन सकेका थिएनन् । कृषिमन्त्री अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हाले देखि नै रासायनिक मल खरिद गर्न लाग्ने समय अवधि घटाउने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘नियमावलीमा भएको संशोधनले अब एक महिनाभित्रै मल खरिदको प्रकृया टुग्याउने बाटो खुलेको छ,’ मन्त्री अधिकारीले भने । किसानलाई आवश्यक पर्दा मल नपाउने अवस्था आउनुमा खरिद नियमावली पनि बाधक रहेको थियो , यस संशोधनले यस समस्यालाई अन्त्य गर्ने विश्वास मन्त्री अधिकारीको छ ।





















