रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको साढे सात किलो सुन प्रहरीले बरामद गरेको छ । चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट स्याउको गाडीमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा करिब साढे सात किलो सुन बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीको नेतृत्वको टालीले बा ४ ख ६२०१ नम्बर स्याउको कन्टेनर गाडीबाट आज दिउँसो साढे सात किलो सुन फेला पारेको पुष्टि गरेको छ । प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीका अनुसार साँढे ७ किलो सुनसहित गाडी चालक गोसाइकुण्ड गाँउपालिका–५ का किशोर भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
सुन धनी को हुन भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि छिमेकी देश चीनको सीमावर्ती क्षेत्रमा लैजान लागिएको २५ करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रा गत चैतमा नेपाल प्रहरीले बरामद गरेको थियो । मालवाहक ट्रक (कन्टेनर)को ‘फल्स बटम’ मा राखेर तिब्बतको केरुङ लैजाने तयारीमा रहेको विदेशी मुद्रा काठमाडौं प्रहरीले बरामद गरेको हो । यसले सुन तस्करी धन्दाको नयाँ स्वरुपमा गिरोह सक्रिय भएको अर्को उदाहरण प्रस्तुत भएको आशंका गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, काठमाडौंले नेपाली रुपैयाँमा हुन आउने जम्मा रकम पच्चिस करोड उन्नाईस लाख चौबिस हजार नौ सय पचास रुपैयाँ बरामद गरेको हो । प्रहरीका अनुसार फुच्चे भनिने वर्ष ४३ को कुसाङ लामा पक्राउ परेका थिए । उनीसँगै सो रकम बराबद भएको हो ।
तत्कालिन घटनाकोप्रहरीको विवरण
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, काठमाडौंले ‘विभिन्न व्यक्तिहरुले ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजच छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१र१२र४ गते बेलुकी अं. २३ः०० बजेको समयमा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.०२ झोरमा ना ७ ख १६५२ नं. को मालबाहक ट्रक गाडीमा शंका लागि रोकी उल्लेखित सवारी साधन नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको “वोनट“ ड्राईभर बस्ने कोठाको (क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामासहित सवारी साधन पक्राउ गरिएको, थप अनुसन्धान कार्य जारी रहेको’ भनेको छ ।
अपराध अनुसन्धान कार्यालयका अनुसार निज कुसाङ लामाले ‘अवैध तरिकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको हुँदा निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाईएको ।’ उल्लेख गरेको छ ।
अभियुक्त सुन तस्करीमै संलग्न
प्रहरीका अनुसार फुच्चे भनिने वर्ष ४३ को कुसाङ लामा पक्राउ परेका थिए । पक्राउ परेका लामा सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नं ०१ भएको र उनी हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.०२ मा बस्दै आएका थिए । प्रहरीले जनाएअनुसार लामा मिति २०७३ साल पुस १३ गते राजच छली सुन चोरी पैठारी मुद्दामा ७ किलो सुनसहित पक्राउ परी ५ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् ।
प्रहरीका अनुसार बरामदी भएको मुद्राको विवरणः
१. अमेरीकी डलरः १०० दरका नोटहरु जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस)
२. अमेरीकी डलरः ५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्असी)
३. युरोः ५०० दरका थान ११ (एघार)
४. युरोः २०० दरका थान ४८० (चार सय असी)
५. युरोः १०० दरका थान ४१४८ (चार हजार एक सय अड्चालिस)
६. युरोः ५० दरका थान १७१७७ (सत्र हजार एक सय सतहत्तर)
समग्रमा प्रहरीले नेपाली रुपैयाँमा हुन आउने पच्चिस करोड उन्नाईस लाख चौबिस हजार नौ सय पचास रुपैयाँ बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका थिए ।
प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्राको ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा पछ्याउनेक्रममा काठमाडौंमै लामासहित सो परिमाणमा विदेशी मुद्रा बरामद गरेको हो ।
यो मुद्रा सुन किन्न चीनतर्फ लैजाँदै गरेको र गिरोहले नयाँ शैली अपनाउन थालेको पुष्टि हुने नेपाल प्रहरीका पूर्व अधिकारीहरु बताउँछन् । भारतमा व्यक्तिगतरुपमा सुन राख्ने प्रचलनका कारण सुनको माग बढी र आपूर्ति कम भएका कारण गिरोहले भारतमा सुन लैजान नयाँ शैली अपनाएको हुनसक्ने पूर्व अधिकारीको भनाइ छ ।
ट्रकबाट बरामद रकम सिन्धुपाल्चोकका नारायण पौडेलको भएको प्रहरी अनुसन्धानले देखाएको थियो ।






















