skip this News Page Tips Ad Road Block

नेपाल चिकित्सक संघद्धारा अस्पतालको सेवा ठप्प पर्नेसम्मका आन्दोलनको घोषणाः स्वास्थ्य मन्त्रालय र जिल्लाका सिडियो कार्यालय घेर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन गराउनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । बुधबार संघको कार्यालयमा पत्रकार सम्मेलन गरी संघले बिहिबार बिहान काठमाडौंमा स्वास्थ्य मन्त्रालय र जिल्ला जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम राखेको जानकारी दिएको हो ।

’देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले भने । २४ घण्टाभित्र उनीहरुका माग सम्बोधन नगरिए १२ गते शुक्रबार देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी संघले दिएको छ । ‘चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक नागरिक समाज, पेशागत संघ सङगठन, विभिन्न मेडिकल सोसाइटीहरु बुद्धिजिवी पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघ हार्दिक आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल चिकित्सक संघको विस्तारित कार्यसमिति र आन्दोलनरत चिकित्सकहरूको छलफल भइ विगत २८ दिनदेखि चिकित्सकहरुको माग सम्बोधन गर्न राज्यले उदासीनता देखाएकाले उक्त निर्णय गरिएको संघले बताएको छ । चिकित्सा शिक्षा आयोगको १६ औं पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् ।

पटक–पटक समाधानको पहलस्वरुप चैत ३१ गते ७२ घण्टे अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेको प्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

आन्दोलन निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजसँग नभइ कार्यान्वयन नगराउने राज्यसँग रहेको डा. कार्कीको भनाइ छ।

Health Tips Ad Road Block