काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाहरुको समस्या समाधानमा ढिलाई नगर्न निर्देशन दिएका छन् । रुग्ण तथा अलपत्र अवस्थामा रहेका आयोजनाहरुको विश्लेषण र समाधानका उपाय कार्यान्वयनतर्फ लाग्न समेत उनको निर्देशन छ ।
मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सहसचिवहरु, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरु तथा विभिन्न आयोजना प्रमुखहरुलाई निर्देशन दिँदै उनले भने, ‘रुग्ण आयोजनाको पहिचानदेखि समस्या समाधानसम्मका काममा ढिलाई हुनु भएन, यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु होला ।’ तोकिएको समयमा काम नहुने, सुस्त हुने तथा पटक–पटक हुने म्याद थपले विकास निर्माण प्रकृयामा ढिलाई भईरहेको भन्दै कार्यक्षेत्रमा देखिने गरि परिणाम ल्याउन उनले कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरुलाई निर्देशन दिए । ‘कहिले कुन कानुन, नियम वा नियमावली आउँछ भनेर नपर्खनुस्’ मन्त्री दाहालको भनाई थियो, ‘अहिले विद्यमान कानूनी व्यवस्था जे छ त्यहि अनुसार अघि बढ्नुस्, अब पनि ढिलाई गर्ने बेला छैन ।’
मन्त्रालयका सचिव केशवकुमार शर्माले रुग्ण आयोजनाहरुबारे मसिनो गरि अध्ययन गरिएको भन्दै आयोजनागतरुपमा समाधानतर्फ मन्त्रालय केन्द्रित रहेको बताए । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले कानूनी व्यवस्था अनुसार रुग्ण आयोजनाहरुका बारेमा समस्या समाधान गर्न प्रत्येक कार्यालयहरुले काम अघि बढाएको बताए ।






















