skip this News Page Tips Ad Road Block

प्रथम राष्ट्रिय याक दिवसः हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षामा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा पहिलोपटक राष्ट्रिय याक दिवस मनाईएको छ । ‘याक चौँरी प्रवद्र्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलोपटक ललितपुरमा एक कार्यक्रम गरी दिवस मनाईएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौंरीको महत्वलाई आत्मसात गर्दे प्रत्येक वैशाख ७ गतेको दिनलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार कार्यक्रम गरिएको हो । सरकारले याकको संरक्षण एवं प्रवद्र्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुवात गरेको छ ।

दिवसको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे । मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याकचौँरीको संख्या घट्दो क्रममा रहेकाले याकचौँरी पालनको संरक्षण र प्रवद्र्धनका लागि सङ्गठित प्रयास आवश्यक रहेको बताए । मन्त्री अधिकारीले याकचौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबको साझा लक्ष्य रहेको उल्लेख गरे ।

मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकचौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व रहेकोमा जोड दिए । मन्त्री अधिकारीले आगामी दिनमा याकचौंरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकहरुलाई सम्मान गरिएको थियो । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा —३ फयाट्टी एसिडको स्रोत रहेको , याकको दहि प्रसिद्ध दुग्ध परिकारको रुपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको र हिमाली क्षेत्रको सभ्यताको रुपमा समेत याक रहेकोमा संरक्षणकर्मीहरुले जोड दिएका छन् । याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन्। याक पर्यटन प्रवद्र्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ । याकमार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यहरु हुँदै आएको छ।

Health Tips Ad Road Block