काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा मङ्गलबार थप २ व्यवसायी माथि कारवाही गरेको छ । विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेश्नल बिजनेस प्रालिलाई कारवाही गरी ३ दिन भित्र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
उक्त प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको हो । यस प्रालिका सामग्रीहरूमा तौलमा समेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको विभागले जनाएको छ । यसै गरी पशुपति ट्रेडिङ्ग कन्सर्न काठमाडौंलाई पनि कागजातसहित ३ दिन भित्र विभागमा उपस्थित हुन सूचना दिएको छ ।
यसअघि आइतबार गरिएको अनुगमनका क्रममा काठमाडौं–२२ स्थित आनन्द ट्रेडर्सलाई २ लाख रकम जरिवाना गरिएको छ । उक्त फर्मलाई उद्योगबाट उत्पादित वस्तुमा एमआरपीसहित लेबल लगाएर बिक्री गर्न निर्देशन दिइएको छ । त्यसै गरी बुढानिलकण्ठ स्थित ट्रियु फार्मैशिया र स्किन फार्मेशीको नमुना सङ्कलन गरी बिक्री वितरण रोक्का गरेको छ ।
आइतबार नै गरिएको अनुगमनमा मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टल प्रालिलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारवाहीलाई प्रभावकारी बनाइरहेको जनाएको छ ।
सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीहरूमा अधिक्तम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ । एमआरपी बिनै सामग्री बेच्नेलाई कारबाही गर्न सुरु गरिएको हो ।






















