काठमाडौं । नेपालका लागि जापानका राजदूत मेएडा टोरूले आफ्नो हालैको वीरगंज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रालिको कारखानाको अवलोकन गरेका छन् । उनलाई केएनपी जापान प्रालिका निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरुद्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो।
राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
राजदूत मेएडा टोरूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधानका लागि नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे । उनले हाल नेपालमा संचालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको संभावना बढ्ने बताए ।
यस अघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रालिमा भएको थियो।






















