काठमाडौं । सरकारले वातावरणमैत्री यातायात र संरचना नेपालको प्राथमिकतामा रहेको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री यातायात र संरचना नेपालको प्राथमिकतामा रहेको बताएका हुन् । उनले संरचनाहरु निर्माणको क्रम देखिनै वातवरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने धारणा राखेका छ्न् ।
एक कार्यक्रमकाबीच उनले यातायात र वातावरणको सवालमा अहिले विश्वव्यापी चासो रहेको समेत उल्लेख गरे ।
नेपालको यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपांगमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताए ।
सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नु साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यसतर्फ समेत काम गरि रहेको मन्त्री दाहालले बताए ।
नेपालको पूर्वाधार निर्माण तिव्र रुपमा भई रहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको मुख्य सडक पूर्व–पश्चिम राजमार्ग मात्र रहेको उल्लेख गर्दै मन्त्री दाहालले हालको अवस्थामा तीनवटा प्रमुख पूर्व–पश्चिम राजमार्गहरू र एक एशियाली मापदण्डको राजमार्ग एकै साथ निर्माण भइरहेको बताएका छन् । त्यसैगरी उत्तर–दक्षिण दिशाका राजमार्ग र करिडोरहरूको पनि विकास भइरहेको र राजधानी काठमाडौं बाहेक, व्यापारिक र रणनीतिक दृष्टिले महत्वपूर्ण सडकहरू निर्माण भइरहेको उल्लेख गरेका छन् ।
नेपालमा केहि भएन र केहि हुन सकेन भन्ने भाष्य चिर्न जरुरी रहेको भन्दै दाहालले सडक तथा पूलहरुका साथै हाल दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण भइसकेको र अब नेपाल आधुनिक सुरुङ मार्गको युगमा प्रवेश गरिसकेको बताएका छन् । नागढुंगा सुरुङ आगामी एक वर्षभित्र सञ्चालनमा आउने तयारीमा रहेको र सिद्धबाबा सुरुङमा ब्रेकथ्रु भइसकेको तथा द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण पनि तिव्र रुपमा भई रहेको उनको भनाइ छ । मन्त्री दाहालले भनेका छन्, ‘जसले भन्छन् ‘केही भएको छैन’—उनीहरूलाई केही वर्षभित्रै हामी ४ देखि ६ लेनसम्मका पूर्व–पश्चिम राजमार्ग र कम्तिमा २ लेनका उत्तर–दक्षिण सडकहरू पूर्ण रूपमा निर्माण भइसकेको देखाउनेछौं ।’






















