काठमाडौं । थाइल्याण्डको बैंककमा भएको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी दुवै खसी देखिएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका दौरान थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटपछि दुई पक्षबीच खुसी व्यक्त गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् । भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् । ‘हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ’, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘बिमस्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।’ प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गर्दै खुसी व्यक्त गरेका छन् ।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’





















