काठमाडौं । नेपालका लागि एथर ईलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जी प्रालिले २०२५ मोडलका स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एथर ४५० सिरिजका दुई स्कुटरको २०२५ मोडल सार्वजनिक गरेको हो । काठमाडौंमा एक कार्यक्रमकाबीच एथर ४५० एक्स र ४५० एस सार्वजनिक गरिएको हो
‘बाइक अफ स्कुटर’ उपनाम दिइएको २०२५ एथर ४५० एक्स अब बहु–मोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीको भनाइ छ । बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पाँग्रालाई अगाडिको पाँग्रासँग तालमेल मिलाउन मद्दत गर्ने र यसले स्कुटरलाई थप स्थिरता र नियन्त्रण गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले ल्याएको नयाँ स्कुटरमा तीन मोडमा ट्रयाक्सन कन्ट्रोल, एथर स्ट्याक ६, वृद्धि भएको १६१ किलोमिटरसम्मको आइडिसी रेन्ज र नयाँ कलर अप्सन रहेको छ ।

वैद्य इनर्जी प्रालिका सीईओ सुर्यांश वैद्यले २०२५ को मोडललाई बहुमोड ट्रयाक्सन कन्ट्रोलसहित प्रस्तुत गरेको बताउँदै प्रिमियम मोटरसाइकलमा मात्र पाइने विभिन्न सुविधा सो स्मार्ट स्कुटरमा उपलब्ध भएको बताए । बैद्यले नेपालमा ईभी स्कुटर बिक्री नहुनका तीन कारण औंल्याए । सर्भिस, ब्याट्री एस्योरेन्स तथा चार्जिङमा समस्या रहेको कारण विद्युतीय स्कुटर बिक्री नभएको उनको भनाइ थियो । यस्तै विषयलाई ध्यान दिँदै एथरले हालसम्म २१ स्थानमा फास्ट चार्जर स्थापना गरिसकेको र छिट्टै १०० स्थानमा फास्ट चार्जर राख्ने उनले जानकारी दिए ।
स्कुटरको रेन्ज सुधार गर्नका लागि नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । यसका लागि एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र उर्जा खपतलाई अनुकूल बनाउँछ । ३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५० एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दाबी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५० एक्स र ४५० एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ । स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् ।
नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ र २.९ किलोवाट आवरको एथर ४५० एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५० एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ रुपैया रहेको छ । कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ ।

वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ । वैद्य इनर्जीले एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ समेत खुला गरेको जनाएको छ ।





















