skip this News Page Tips Ad Road Block

एकसाथ गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शन हुने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा, यात्रुलाई भने बिहानैदेखि समस्या

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज एकैसाथ गणतन्त्र पक्षधर र राजवादीले काठमाडौंका विभिन्न स्थानमा र्यालीसँगै प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । दुई छुट्टाछुट्टै समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था बलियो पारिएको हो । गणतन्त्र पक्षधर र विरोधी राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले दुई छुट्टाछुट्टै स्थान तोकी त्यही अनुसारको सुरक्षा व्यवस्थापन मिलाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कतासहितको तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् । उनले दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिएका छन् ।

दुवै पक्षले प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरेको पनि उनको भनाइ छ ।

गणतन्त्र पक्षधर अन्तर्गत समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूहले गणतन्त्रका पक्षमा प्रदर्शन गर्दै छन् भने राजतन्त्रसहितको हिन्दूराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरिएको छ ।

नेपाल प्रहरीले पनि काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । प्रहरीले दुवै पक्षले आयोजना गर्ने प्रदर्शन स्थल, र्यालीमा प्रयोग हुने रुटको सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक प्रहरी परिचालन गरेकाे बताएको छ । दुवै समूहको शान्तिपूर्ण प्रदर्शन भनिएको दुईबीचको र्यालीबीच जम्काभेट र मुडभेड नहोस् भनेर आवश्यक सुरक्षा तयारी अपनाइएको प्रहरीकाे भनाइ छ ।

शुक्रबारका दुई फरक प्रदर्शनको सुरक्षाका लागि सशस्त्र प्रहरीले सशस्त्र प्रहरी नायव महानिरीक्षकको कमान्डमा झन्डै दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागले पनि सादा पोसाकमा आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।

यसैबीच दुई समूहको फरक फरक प्रदर्शनका कारण ट्राफिक डाइभर्सन बिहानैदेखि भएका कारण यात्रुहरुले भने सास्ती भोगेका छन् । गन्तव्यतर्फ जाने यात्रुहरु बिहानैदेखि समस्यामा परेका हुन् ।

Health Tips Ad Road Block