ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारको रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता होः राजेश अग्रवाल

काठमाडौं । आइतबार काठमाडौंमा महिला नेतृत्व सम्मेलन (वमन लिडरसिप समीट)२०२५ सम्पन्न भएको छ । विभिन्न सत्रमा गहन छलफल भएर नीतिगतरुपमै सरकारलाई सुझाव दिनेगरी प्रतिवेदन तयार गर्ने कार्य गर्दै सम्मेलन सक्किएको हो । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको दोस्रो महिला नेतृत्व सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समीटको उद्घाटनका क्रममा सीएन्आईका अध्यक्ष राजेश अग्रवालले उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको छाता संगठनको रुपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना गर्दै देशको समग्र आर्थिक, सामाजिक विकासमा बलियो साझेदारको रुपमा परिसंघले महत्वपूर्ण योगदान गर्दै आएको दाबी गरे । परिसंघले समग्र आर्थिक विकासलाई केन्द्रमा राखी सोही अनुरुपका नीतिगत सुझावसँगै नेपाल सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सहकार्य, समन्वय गर्दै आइरहेको धारणा राख्दै उनले सबैलाई सम्बोधन गरेका थिए । सोहीअनुरुप समीट आयोजना भएको उनले स्पष्ट पारे । महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारको रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको भन्दै अग्रवालले महिला उद्यमशिलतामा उनीहरुलाई अगाडि ल्याउनुपर्ने धारणा राखे ।

समीटलाई सम्बोधन गर्दै सीएनआई अध्यक्ष राजेश अग्रवालले महिला नेतृत्व सम्मेलनका सम्बन्धमा राखेको विचारको सम्पादित अंश यस्तो छः

–परिसंघले उद्योग, राजश्व, रोजगारदाता, पर्यटन, महिला नेतृत्व फोरम, युवा उद्यमी मञ्चलगायत विभिन्न समिति, परिषद् एवं मञ्च गठन गरी तत्तत् क्षेत्रका लागि नीतिगत सुझावसँगै विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेकाे छ । त्यसैको फलस्वरुप वमन लिडरसिप फोरमको संयोजनमा हरेक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको वमन लिडरसिप समीट साथै राष्ट्रियस्तरमा विषय केन्द्रित सम्मेलन गर्दै आईरहेकाे छ । सन् २०२३ मा अन्तर्राष्ट्रियस्तरको पहिलो सम्मेलन सम्पन्न गरेका थियौं भने सन् २०२४ मा प्रादेशिक तहमा बागमती प्रदेशको चितवनमा वमन लिडरसिप एग्रीकल्चर समीट सम्पन्न गरेका थियौं ।

–महिला नेतृत्व सम्मेलन केवल सम्मेलन मात्रै होइन । महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक एवं समावेशिताका साथ अगाडि बढाउने, प्रोत्साहन गर्ने एउटा अभियान पनि हो । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ, प्रोत्साहित गर्नेछ । नीति निर्माताहरुलाई महिला मैत्री नीति बनाउन, उद्यमी बन्न प्रोत्साहित गर्न, भएका नीति, व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न समेत ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुबाट देश विदेशमा भएका अभ्यास, प्रयास, पारेको सकारात्मक प्रभावका विषयमा गहनरुपमा छलफल हुने भएकाले नीतिगत व्यवस्थाका लागि निष्कर्षसहितको सुझावसमेत तयार पार्नेछौं ।

–संस्थागत रुपमा नेपाल उद्योग परिसंघले महिलाहरुलाई उच्च प्राथमिकतामा राख्दै उहाँहरुको भूमिकालाई गहन रुपमा बुझेका छौं । परिसंघ सचिवालयमा ५० प्रतिशतभन्दा बढी महिला कर्मचारीहरु नै हुनुहुन्छ ।

–नेपाल सरकारले पनि राजनीतिक, आर्थिकरुपमा महिलाहरुको सहभागिता बढाउन, महिला सशक्तिकरणका लागि कानुनी एवं नीतिगतरुपमा प्रोत्साहन नै गरेको देखिन्छ । सरकारले आयकरमा महिलाहरुलाई १० प्रतिशत छुट दिएको छ । सम्पत्तिमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिकरुपमा समेत बलियो बनाउन जग्गापास गर्दा २५ प्रतिशतसम्म छुट दिइएको छ । यसैगरी महिला उद्यमशीलता कर्जाको व्यवस्था गरिएको छ । यद्यपी यो व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । महिला उद्यमशीलता कर्जा नपाएको गुनासो उद्यमी महिलाहरुबाट आएका छन् । यसतर्फ सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैले राज्यले महिलाहरुलाई प्रोत्साहन गर्दै नगरेको होइन, गरिरहेको छ । थप प्रोत्साहन गर्नुपर्छ भन्नेमा परिसंघ स्पष्ट छ ।

–सार्वजनिक निकायमा महिलाहरुको सहभागिता बढाउनुपर्ने हो की भन्ने हामीलाई लागेको छ । महिलाले नेतृत्व गरेको संस्थामा गुड गभरनेन्स हुन्छ भन्ने मान्यता विश्वव्यापीरुपमा नै रहेको पाइन्छ । त्यसैले नेपालको औद्योगिक तथा आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरूको भूमिका महत्वपूर्ण छ । महिलाहरुको भूमिका थप बढाउनुपर्ने आवश्यकता पनि छ ।

– नेपालमा महिला उद्यमशीलताको विकास सकरात्मक रुपमा बढिरहेको पाउन सकिन्छ । नेपालका महिला उद्यमीहरूले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन् । साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गईरहेको छ । महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारको रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता हो । देशले अवलम्बन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार महिला पनि हुन भन्ने मान्यतालाई अगाडि बढाउन आवश्यक छ । यसका लागि नेपाल उद्योग परिसंघ नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउन चाहन्छु ।

–राजनीतिक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता न्यूनतम सीमा हो, अधिकतम होइन । त्यसैले राजनीतिक क्षेत्रमा लैंगिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्वलाई बढाउन आवश्यक छ । महिलाको आवाज र कथाहरू समानरूपमा प्रतिनिधित्व हुने र कार्यान्वयनमा आउन सक्ने गरी नीति निर्माणमा महिलाहरूको सहभागिता बढाउन आवश्यक छ ।

–महिलाको आत्मनिर्भरता उनीहरूको वित्तीय पहुँचसँग प्रत्यक्षरूपमा सम्बन्धित छ । महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपको अधिकतम उपयोग गर्न ऋण पहुँचको सीमा वृद्धि गर्न आवश्यक छ । लघु, घरेलु, साना र मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्न महिला लक्षित ऋण संरचनामा सुधार गर्न आवश्यक छ ।

–महिलाहरू समान रूपमा शक्ति र स्रोतको पहुँचबाट वञ्चित छन् भन्ने बुझ्नुपर्छ । पुरुषहरूले महिलाहरूलाई नेतृत्वको स्थान दिन, आफ्नो शक्ति र स्थान साझा गर्न र आवश्यक परेमा त्यस्ता स्थानहरू छोडेर महिलाहरूलाई सुरक्षित र आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्नुपर्छ । लैंगिक समानता भनेको पुरुष र महिलाको अनुपात मिलाउने विषयमात्र नभई सुरक्षित वातावरण सिर्जना गर्नु, नेतृत्व तहमा जान सहज बनाउनु पनि हो ।

–महिलाहरू विश्व अर्थतन्त्रमा एक ठूलो तर पूर्ण रुपमा प्रयोग गर्न नसकिएका स्रोत हुन् । लैङ्गिक असमानता हटाउँदै शिक्षा, रोजगार, उद्यमशीलता, र नेतृत्वका अवसरहरू बढाउन सकिए समाजले महिलाको पूर्ण आर्थिक सम्भावनालाई उपयोग गर्न सक्छ । महिला सशक्तिकरणमा लगानी गर्दा यसको प्रत्यक्ष प्रभाव पारिवारिक आम्दानी, सामुदायिक समृद्धिसँगै अर्थतन्त्रको विकाससँग समेत पर्दछ । लैङ्गिक समानता सुनिश्चित गर्नु मात्र नैतिक आवश्यकता होइन, यो असाधारण आर्थिक प्रगति र दिगो विकासतर्फको रणनीतिक मार्ग पनि हो भन्ने मान्यताका साथ ‘इन्भेष्टिङ इन वमन’ शिर्षकमा सत्र संचालन गरिएको छ । यस प्यानल छलफलले व्यापारिक परिदृश्यमा परिवर्तनकारी रणनीति अन्वेषण गर्ने हाम्रो विश्वास छ । लैङ्गिक पारिश्रमिक असमानतालाई हटाउने, महिलाको उद्यमशीलता प्रवद्र्धन गर्ने र वित्तीय स्रोत तथा अवसरहरूमा महिलाको पहुँच बढाउने उपायहरूबारे यस सत्रमा बहस हुनेछ भन्ने विश्वास लिएको छु ।

–वमन इन सस्टेनेबल एग्रीकल्चर विषयमा अर्को सत्र संचालन हुनेछ । यस सत्रमा सफल परियोजनाहरूका उदाहरणहरू प्रस्तुत गरिनेछ, जसले प्राविधिक, आर्थिक, सामाजिक, तथा नीतिगत अवरोधहरू कसरी पार गर्न सकिन्छ भन्ने विषयमा सफल गरिनेछ ।

– महिला उद्यमीहरूका लागि प्रविधि एउटा शक्तिशाली उपकरण हो, जसले परम्परागत अवरोधहरू पार गर्दै दिगो व्यवसाय अभ्यासलाई सक्षम बनाउन सहयोग गर्छ । महिला उद्यमीहरूले उद्योगहरू रूपान्तरण गरिरहेका छन् र दिगोपनतर्फको परिवर्तनलाई नेतृत्व गरिरहेका छन् । प्रविधिले महिलाहरूलाई आफ्नो व्यवसायलाई विश्वव्यापी बजारसम्म विस्तार गर्न मद्दत गर्छ, जसले परम्परागत व्यापार मोडेलमा प्रायः नजर अन्दाज गरिएका समुदायहरूलाई पनि लाभान्वित गर्छ । आर्थिक सशक्तिकरणमा प्रविधिको भूमिका विषयमा टेक्नोलोजी एण्ड इनोभेसन मा अर्को बहस हुनेछ ।

–बीओन्ड बाउन्ड्रीज् शिर्षकमा महिलाहरूका सफलतामा चर्चा हुनेछ । विभिन्न क्षेत्रका महिलाहरूका प्रेरणादायी कथाहरू, जसले सफलता पुनः परिभाषित गरेका छन् । व्यावसायिक वृद्धिको सन्तुलन र व्यक्तिगत जीवन व्यवस्थापन सम्बन्धी अनुभवहरू साटिनेछन् ।

– सम्मेलनले नीति निर्माता, विज्ञ, नेतृत्व सबैलाई एकै ठाउँमा राखेर महिला सशक्तिकरणका लागि, देशका लागि, अर्थतन्त्रका लागि गहन रुपमा छलफल गर्नेछौं । यसले नेपाल सरकारलाई नीतिगत रुपमा स्पष्ट सुझाव दिनेमात्रै नभई भए गरेका सकारात्मक प्रयासलाई समेत हेर्ने छौं, सुन्ने छौं, बुझ्ने छौं ।

Health Tips Ad Road Block