काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको बताए । जीवनमा आइपर्ने विपद्, जोखिम अनपेक्षित र अनिश्चित हुने भन्दै अध्यक्ष ढकालले आफूले दुःख गरेर आर्जन गरेको सम्पत्ति या कुनै व्यवसाय संभावित जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो माध्यम नै निर्जीवन बीमा भएको बताए । यसै यथार्थलाई मध्यनजर गर्दै विगत दुई दशकभन्दा लामो समयदेखि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरु न्यूनीकरण गर्न सहजकर्ताको भूमिका खेलिरहेको भन्दै उनले यसले समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउदै आईरहेको जानकारी दिए ।
सो अवसरमा अध्यक्ष ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१.४७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको विवरण प्रस्तुत गरे । यो रकम गत आर्थिक वर्षको भन्दा २.८ प्रतिशतले वृद्धि भएको आँकडा प्रस्तुत गरे । साथै आर्थिक वर्ष २०८०/०८१ मा कुल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कुल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको विवरण सार्वजनिक गरिएको थियो । सो सूचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउँदै समीक्षा वर्षमा यस कम्पनीले ३.६३ अर्ब बीमा शुल्क आर्जन गरी गतवर्षको दाँजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।
त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९ लाख ६१ हजार ५ सय ३० (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।
कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिनाभित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी वर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडि सारेको र सोलाई क्रमशः व्यवस्था गर्दै लगिने व्यहोरा समेत उनले शेयरधनीलाई जानकारी गराए ।
कम्पनीले २७ औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले पारित गरेको छ ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७ औँ वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वगत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मीको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने वाचा उनले व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले संस्था राम्रोसँग अगाडि बढिरहेको उनले जानकारी गराए ।
बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्याउने हेतुले कम्पनीले सातै प्रदेशमा रहेका ६९ वटा शाखा तथा उपशाखा र १४ वटा सेवा काउण्टरहरु गरी ८३ स्थानमा आफ्नो बलियो उपस्थितिसहित ५०१ जना कर्मचारीहरुमार्फत सेवा दिइरहेको छ । जसमा ४५.७९ प्रतिशत महिला कर्मचारी रहेको, ४०० अभिकर्ताहरु र १९१ सर्भेयरहरुमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको सिईओ श्रेष्ठले जानकारी गराए । कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा हासिल गरेको बीमा प्रिमियम रकम ३ अर्ब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा ३ अर्ब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको जनाएको छ । त्यसैगरी नेपाल सरकारलाई गत आर्थिक वर्षमा विभिन्न करबापत कुल ५९ करोड २८ लाख भुक्तानी गरेकोमा समीक्षा वर्षमा ३५.८० प्रतिशतले वृद्धि गरी ८० करोड ५० लाख रुपैयाँ राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याएको उनले जानकारी दिएका छन् ।
श्रेष्ठले कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिएका उनले बताए । नेपाल बीमा प्राधिकरण लगायत कम्पनीको नियमनकारी निकायहरुबाट समय समयमा जारी हुने निर्देशनलाई विषेश महत्वका साथ परिपालन गर्दै कम्पनी अगाडि बढिरहेको कम्पनीले जनाएको छ । त्यसैगरी चुक्ता पूँजीको अनुपातमा कम्पनीले बीमा बजारमा आफ्नो स्थानलाई सुरक्षित गर्ने गरी गुणस्तरीय व्यवसायमा विषेश ध्यान दिँदै आएको जसबाट चालु आवमा निर्जीवन बीमा बजारमा कम्पनी चौथो स्थानमा रहेको र यसलाई अझै स्तरोन्नति गर्दै लाने गरी कार्यहरु भईरहेको व्यहोरा समेत जानकारी गराए ।