काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धादिङ र गोरखामा पर्ने जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बनाउन निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् । धादिङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको धादिङको समृद्धि र विकास विषयक अन्तक्रियामा पूर्व मन्त्री पाण्डेले विदेशी लगानीकर्ता र निजी ठूला लगानीकर्तालाई आव्हान गरेर बुढीगण्डकी आयोजना बनाउन सबै लाग्नुपर्ने धारणा राखेका हुन् । उनले भने, ‘ बुढीगण्डकी आयोजना बनाउन प्राइभेट क्षेत्रको ठूला लगानी नल्याई हुँदैन । यसमा मेरो ध्यानदृष्टि छ । यसमा लाबिङ गर्नुपर्दछ । लबिङ गरिरहेको पनि छु । कमसेकम आउने बजेटबाट भएपनि केही कुरा निकास गर्न सकिन्छ कि ।’ उनले थप्दै भने, ‘प्राइभेट क्षेत्रलाई दिने भए फाइनल निर्णय गरिदिए भैगो । लगानी बोर्डले बुढीगण्डकी योजना बनाउन आउने कम्पनीहरु यस्ता आउ भनेर सारीदिए हुनेछ । यस्तो केही गर्नुपर्दछ ।’
मुलुककै गेम्चेञजर बुढिगण्डकी परियोजना बनाउन ५०० अर्ब माथिको ठूलो लगानी चाहिने भन्दै उनले नेपाल सरकार वा सर्वसाधारणको भन्दा पनि ठूला लगानीकर्ताको साथ लिनुपर्ने बताएका हुन् ।
सातदेखि १० वर्षमा सक्ने गरी परियोजना बनाउनुपर्नेमा जोड दिँदै पाण्डेले दोहोर्याएर भने, ‘यो पैसा कि विदशीबाट खोज्नुपर्दछ कि निजी क्षेत्रबाट खोज्नुपर्दछ । उनीहरुबाट मात्र यो सम्भव छ ।’
भिडियो हेर्न रातो अक्षरमा क्लिक गर्नुहोस्
https://www.facebook.com/arthapranali/videos/644191674801200
धादिङको विकासबारे धारणा राख्दै पाण्डेले व्यवसायी र पालिकाका अध्यक्षहरुको भेला बोलाएर गर्न सकिने कामबारे निक्र्यौल गर्नुपर्ने सुझाव दिए । सबै परियोजनाको कुरा गर्नुभन्दा पनि निश्चित परियोजनामा केन्द्रीत बन्दै अगाडि बढनुपर्नेमा उनको जोड रहेको छ । राजनीतिक कुरा गर्दै पाण्डेले मिसन ८४ लाई काम गरेर स्थापित गर्नुपर्ने भन्दै कार्यकर्तालाई सोहीअनुरुप लाग्न दिर्नेशन दिए ।
कार्यक्रममा सहकारी महासंघका पूर्व अध्यक्ष मीनराज कँडेल, नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजाल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका उपाध्यक्ष भरत खत्री, इ. कृष्ण अधिकारी लगायतले कार्यपत्र प्रस्तुत गर्दै धादिङको समृद्धि, विकास, चुनौती र अबको बाटोका विषयमा कृषि, प्रकृति, सहकारी, संस्कृति, पर्यटन, ऊर्जा लगायत क्षेत्रबारे प्रस्तुतीकरण दिएका थिए ।























