काठमाडौं । फेब्रुअरी महिनालाई साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले हरेक वर्ष आयोडिन मन्थ (फरवरी) भनेर मनाउने गर्दछ । यसैक्रममा यसवर्ष पनि कर्पाेरेशनले विज्ञहरु, उपभोक्ता अधिकारकर्मी, सर्वसाधारण एवं सरोकारवालामाझ पुगेर यस महिनालाई मनाएको छ । प्रस्तुत छ, हरेक वर्ष मनाइने आयोडिन मन्थका अवसरमा अर्थ प्रणाली डट कमले साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीसँग आयोडिनयुक्त नूनको सही उपभोग र सचेत बन्नुपर्ने पक्षका विषयमा गरेको कुराकानीको संपादित अंशः
फेब्रुअरी महिनालाई आयोडिन मन्थ(फरवरी) भनेर विगत लामो समयदेखि विशेषरूपले मनाइँदै आइएको छ, खास के हो ?
हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउने नेपाल सरकारको निर्णय हो । आयोडिनको कमीले हुने विकृतिहरु अझै पनि शतप्रतिशत रूपमा उन्मुलन भइसकेको छैन । कतिपय स्थानमा उन्मुलन भइहालेपनि यसको सही सेवन भएन भने फेरि फर्केर आउन सक्दछ भनेर सम्पूर्ण उपभोक्ताहरुलाई जागरण गराइरहनु आवश्यक छ । आयोडिनको कमीबाट निम्तिने विकृति कसरी कम गर्न सकिन्छ ? उचित प्रयोग के हो ? सही प्रयोग गर्नका लागि उपभोक्ता सचेतना कार्यक्रम अन्तर्गत हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन मन्थ भनेर मनाइन्छ । साल्ट ट्रेडिङ कर्पाेरेशनले आफ्नो दायित्व सम्झेर नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गरिरहेको छ । कर्पाेरेशनले देशैभर सम्पूर्ण कार्यालयहरूबाट यो कार्यक्रम गरेको छ । सचेतना बढीभन्दा बढी फैलियोस् भनेर यसवर्ष जुन–जुन ठाउँमा आयोडिनको कमीले विभिन्न समस्याहरु निम्तिरहेका छन् ती–ती स्थानमा विशेषरुपले यो अभियानलाई मनाईएको छ । सर्वेक्षणले नै आयोडिनको कमीले मानव स्वास्थ्यमा समस्या र विभिन्न विकृति देखाइरहेका स्थानमा यसपाली कर्पाेरेशन बढी केन्द्रित भयो । खासगरी सीमा क्षेत्र(बोर्डर एरिया) र केही पहाडी क्षेत्रमा कर्पाेरेशन बढी केन्द्रित भयो । क्यालेण्डर नै बनाएर हरेक कार्यालयले विद्यालय, हाटबजार, मानिस जमघट बढी हुने स्थलमा सचेतनासँगै र्याली आयोजना गरेर सचेतना कार्यक्रम गरेको छ । हरेक वर्ष गरिने यस्तै सचेतना र साल्ट ट्रेडिङले गरेको कार्यले एक किसिमको सफलता पनि पाएको छ । साल्ट ट्रेडिङसहित सबै सरोकारवाला निकायको सहयोगले गर्दा आयोडिनको क्षेत्रमा नेपालले सार्क क्षेत्रमै सबैभन्दा राम्रो स्थान बनाएको छ ।
हाल नेपालमा कति प्रतिशत जनसंख्यामा आयोडिनको कमी छ ?
पछिल्लो सर्वेक्षणले सीमा क्षेत्र र केही पहाडी क्षेत्रका करिब १५ देखि १७ प्रतिशत उपभोक्ताहरूले अझै पनि आयोडिन नभएको एवं भारतबाट आयातित नूनको सेवन गरिरहेको तथ्यले देखाउँछ । त्यसैले साल्ट ट्रेडिङले उनीहरुलाई लक्षित गरेर कार्यक्रम अगाडि बढाइरहेको छ । साेहीकारण यसपाली सीमा क्षेत्र (बोर्डर एरिया)लाई लक्षित गरेर नै कार्यक्रमहरू बढी गरियो ।
अरु सालभन्दा यसपालि के फरक रह्यो ?
नेपाल सरकारले सन् १९९८ देखि हरेक वर्षको फरवरी महिनाभर देशव्यापीरुपमा आयोडिनयुक्त नूनको सही उपभोग सम्बन्धमा नागरिकलाई सचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै मनाउने गरेको छ । पहिला–पहिला सबैलाई लक्षित गरेर सामाजिक अभियानहरू सञ्चालन गरिन्थ्यो । आज पनि कार्यक्रमहरू त उस्तै छन् तर पछिल्ला वर्षहरुमा लक्षित वर्गलाई ध्यानमा राखेर बढी कार्यक्रम गर्ने गरिएको छ । स्कुले बालबालिकादेखि दैनिक किचन(चुल्हो चौका)मा काम गर्नेहरुलाई सम्झाउन बढी केन्द्रित बनिएको छ । यसो भएमा भोलिका दिनमा प्राप्त उपलब्धि गुम्दैन भनेर महिला, दिदीबहिनी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सबैलाई प्रयोग गरेर नेपाल सरकारको कार्यक्रमलाई साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको छ ।
वास्तवमा एउटा व्यक्तिलाई कति आयोडिन चाहिन्छ ?
यसमा मानिस अनुसार फरक–फरक हुन्छ । कुनै पनि जन्मेको ६ महिनाको बच्चादेखि नौ वर्षसम्मका लागि ९० माइक्रोग्राम आयोडिन चाहिन्छ । तथ्याङ्कले त्यो देखाउँछ । नौ वर्षदेखि १२ वर्षसम्मको लागि १२० माइक्रोग्राम, गर्भवती महिलाहरुलाई २९० माइक्रोग्रामसम्म आयोडिन चाहिन्छ भन्ने रहेको छ ।
साल्ट ट्रेडिङ्गले बजार पठाउने एक किलोको नूनको प्याकेटमा कति आयोडिन हुन्छ ?
यसबारे प्याकेटमा नै लेखिएको हुन्छ । नेपाल सरकारले तोकेको न्यूनतम आयोडिन कम्तीमा ५० पीपीएम एक प्याकेट नूनमा हुनुपर्नेछ । यसो भन्नुको अर्थ १० लाख भागमा ५० भाग आयोडिन हुनुपर्दछ । सरल भाषामा भन्नुपर्दा १० लाख वटा टुक्रा छ भने त्यसमा ५० वटा टुक्रा आयोडिन हुनैपर्दछ । त्यसरी आयोडिन मिसाउने गरिएको छ ।
आयोडिनयुक्त प्याकेटको नून बजारका मुख्यमुख्य शहरमा नै उपभोक्ताले सहजै पाउँदैनन् । कतिपय पसलेले आफ्नो पसलमा अरु सामान नकिन्नेलाई नूनमात्रै किन्न नदिने वा नून नदिने गर्दछन् भन्ने सुनिन्छ नि, के हो ?
यतिबेला बजारमा अनेक किसिमका अफवाह फैलाउने काम भइरेहका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले विभिन्न किसिमका विपद्हरू, नाकाबन्दीमा बेलामा समेत सर्वसुलभ रुपमा नून उपलब्ध गराइरहेको छ । नेपाल सरकारले व्यवस्था नै गरेर न्यूनतम ६ महिनाका लागि पुग्ने नूनको मौज्दात हुनुपर्दछ भनेर एउटा मापदण्ड बनाइदिएको छ किनकि नेपालमा नून उत्पादन नहुने भएकाले यसो गर्नुपर्ने बाध्यात्मक शर्त बनेको हो । सरकारले छ महिनाको लागि पुग्ने नूनको मौज्दात राख्नु भनेपनि साल्ट ट्रेडिङ्गले १० महिनामा लागि पुग्ने भण्डारण गरेर राखेको छ । हाम्रो यो दाबी छ कि ठूलाठूला भूकम्प, बाढी र अन्य विपदलगायत कुनै पनि समयमा नुनको अभाव रहँदैन । साल्ट ट्रेडिङले यस किसिमले सबैतिर सहजरुपमा नून पुर्याउँदै आएको छ । राज्यले गरेको यो व्यवस्थालाई जनताले सम्पूर्णरुपमा उपभोग गर्न पाउनुपर्दछ । त्यो अधिकार नागरिकलाई छ । उपभोक्ता सचेत हुनुपर्दछ । यति हुँदाहुँदै पनि यदि त्यस्ता किसिमका व्यवहार गर्ने जो कोही छन् भने सम्बन्धित निकाय, उपभोक्ता हित संरक्षण विभाग लगायत विभिन्न स्थानमा उजुरी गर्न सकिनेछ । म सबैलाई निर्धक्क भएर आयोडिनयुक्त प्याकेटको नूनको उपभोग गर्न अनुरोध गर्दछु । अभाव कहीँपनि छैन र रहँदैन ।
चिनी र नून स्वास्थ्यका लागि सबैभन्दा खतरापूर्ण छन्, त्यसमा पनि धुलो नून झन् खराब हो । बच्चाबच्चीको लागि आयोडिन खुवाउनुपर्ने भएपनि वयस्क र अन्य व्यक्तिलाई यो धुलो नून चाहिँदैन, ढिके नून खाए हुन्छ भन्ने गरिएको छ, यस किसिमको हल्ला किन भइरहेको हो ?
यस्तै धेरै हल्ला भएको कारणले नै नेपाल सरकारले आयोडिन मन्थ भनेर आयोडिनयूक्त नूनबारे सचेतना गर्दै आएको हो । सामाजिक सञ्जालमा जुन किसिमले अनावश्यक हल्ला फैलिएका देखिन्छन् यस्ता किसिमका हल्लाको पछि कोही पनि लाग्नुहुँदैन । २०७९ सालमा पनि यस्तै धेरै ठूलो हल्ला फैलिएको थियो । त्यतिबेला स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वक्तव्य नै निकालेर यस्ता हल्लामा विश्वास नगर्नुस् र हल्लाका पछाडि नलाग्नुस् भनेको थियो । आजसम्म नेपाल सरकारले तोकेको ५० पिपीएम राखेको आयोडिनयुक्त नून साल्ट ट्रेडिङ्गमार्फत बजारमा उपलब्ध भएको र त्यसले कुनै स्वास्थ्य समस्या हुँदैन । त्यतिबेला पनि मन्त्रालयहरुबाट यही आयोडिनयूक्त नून प्रयोग गर्नुपर्छ भनेर विज्ञप्ति जारी गरिएको थियो । अब यसलाई फेरि दोहोर्याउनुपर्ने अवस्था आइसकेको छ । यस्ता किसिमका नचाहिँदा हल्ला फिँजाएर आयोडिन नै नभएको नून खुवाएर भोलिका दिनमा बालबालिकामा विभिन्न किसिमका विकृतिहरुः बौद्धिक क्षमताको विकास नहुने, हिँडाई बोलाईमा गडबड हुने, अपाङ्गता हुनसक्ने जस्ता विषय पनि समेटेर नेपाल सरकारले यसलाई प्रचारप्रसार गर्नुपर्ने बेला भएको छ ।
आयोडिनको कमीले वास्तवमा के–के समस्या निम्तिन्छ ?
आयोडिनको कमीले रोग निम्तिने होइन । आयोडिनका कमीले विभिन्न किसिमका विकृति निम्तिने हो । रोगको उपचार हुन्छ तर विकृतिको उपचार हुन सक्दैन । आयोडिनको कमी भयो भने कुनै पनि महिलाको गर्भमा रहेको बच्चाको मानसिक विकास नै हुँदैन । मानसिक विकास नभएको बच्चा जन्मियो भने भोलिका दिनमा त्यो बच्चा पढाइ लेखाई, खेलकुददेखि सबै क्षेत्रमा कमजोर बन्दछ र देशको लागि योग्य नागरिक नै हुन सक्दैन । उसको दिमागले जति काम गर्नुपर्ने हाे त्यो हुन सक्दैन । त्यसैगरी शारीरिक हिसाबले लुला लङ्गडा हुन सक्दछ । त्यसो हुनाले उसको जिन्दगी उसैलाई नै भार हुन पनि सक्दछ । कहिलेकहिले बाल मृत्युदर पनि बढ्न सक्ने खतरा रहन्छ । गर्भमै बच्चा तुहिने पनि हुन सक्दछ । पशुहरूको कुरा गर्दा गाईभैँसीले दूध कम दिने हुन सक्दछ । यी विकृति हुन्, जसको उपचार हुन सक्दैन । त्यसकारणले नेपाल सरकारले नै आयोडिनको महत्व बारेमा बुझाउन हरेक वर्ष पूरा एक महिनाभरि आयोडिनयुक्त नून प्रयोग गर्नुपर्छ भनेर प्रचारप्रसार गरेको हो ।
वस्तुभाउलाई पनि आयोडिनको आवश्यकता पर्दछ ?
मानव शरीरका लागि जति आयोडिनको मात्रा आवश्यकता पर्दछ वस्तुभाउ(पशु)लाई पनि त्यति नै आयोडिनको आवश्यकता पर्दछ ।
अन्त्यमा, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सन्देश के हो ?
अहिले बजारमा आयोडिनयुक्त नून खानु हुँदैन भनेर सानातिना सर्वेका आधार बनाइ अफवाह फैलाउने काम पनि भएका पाइन्छन् । यस्ता विभिन्न हल्लाका पछाडि नलागी सबै सचेत बन्नुपर्दछ । नेपाल सरकारले सन् १९९८ देखि हरेक वर्ष आयोडिनयुक्त नून नै सेवन गरौँ भनेर प्रचारप्रसार गरिरहेको छ । केही व्यक्तिहरुले त्यो नखाउँ भन्दैमा त्यसैको विश्वासमा लागेर कोही पनि पछि लाग्नु हुँदैन । सरकार एवं राज्यका निकायहरुलाई नै उपभोक्ताले पत्याउनु पर्दछ किनकि सरकारले गलत निर्णय गर्दैन । त्यो हिसाबले सम्पूर्ण उपभोक्ताहरुले नेपाल सरकार र साल्ट ट्रेडिङले भनेका विषयलाई विश्वास गरेर अगाडि बढ्नु पर्दछ । सरकारप्रति विश्वास गरेर आफ्ना सन्ततिहरूको भविष्य अप्ठ्यारो नहोस्, राम्रो होस् भन्ने हिसाबले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड अर्थ प्रणाली डट कमबाट सबैलाई यो सन्देश प्रवाह गर्न चाहन्छ । सबैले यो बुझौ कि आयोडिनयुक्त नून नै स्वास्थ्यको लागि राम्रो हो र ढिके नून खानुहुँदैन ।