काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा बिहीबारदेखि सुरु ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ पाँच दिनसम्म चल्नेछ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालित यो क्यान इन्फोटेकको ३०औँ संस्करण आगामी सोमबारसम्म चल्नेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार एक विशेष समारोहमाझ एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर क्यान इन्फोटेकको औपचारिक उद्घाटन गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत क्यान इन्फोटेक २०२५ को सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले निजी क्षेत्रको सहयोगमा सूचना प्रविधि उद्योगमैत्री कार्यक्रम सञ्चालन, नवप्रवर्तन तथा स्टार्टअप संस्कृतिको विकास, स्वदेशी सीप र कलाको प्रोत्साहन, प्राविधिक जनशक्ति उत्पादन र परिचालन मार्फत देशको अर्थतन्त्र सुदृढ बनाउन सरकारका तर्फबाट अधिकतम पहल भइरहेको जानकारी पनि दिए ।

यता मन्त्री गुरुङले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि आह्वान गरे । उनले भने, “तपाईंहरू मेहनत र हिम्मतका साथ काम गर्नुहोस्, नेपाललाई आईटी हबको रूपमा चिनाऔँ ।” उनले निजी क्षेत्रको प्रयासको सराहना गर्दै सरकारको तर्फबाट ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । साथै आईटी क्षेत्रलाई उद्योगको मान्यता दिन सरकार सकारात्मक रहेको उनले बताए । आईटी पार्क, ज्ञान पार्क र एआई रिसर्च सेन्टरको नेपालमा अभाव रहेको बताउँदै उनले आगामी वर्ष कम्तीमा एउटा आईटी पार्क खोल्ने योजना रहेको सुनाए । “हामी कम्तीमा एउटा आईटी पार्क वा नलेज पार्क बनाउने योजनामा छौँ । काठमाडौंमा सुरु गरेर सात ओटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो । मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले अध्यादेशमार्फत सकारात्मक कदम चालेको जानकारी दिए । साथै साना आईटी उद्यमीहरूलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए ।
उद्घाटन समारोहमा नास्टका उपकुलपति प्राडा दिलिप सुब्बा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतका वक्ताहरूले क्यान इन्फोटेक २०२५ को सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याए । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, त्रिवि इन्जिनियरिङ संस्थाका प्राडा सुवर्ण शाक्य, क्यान महासंघका संस्थापक अध्यक्ष डा। विमल कुमार शर्मा, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, क्यान इन्फोटेकका शीर्ष प्रायोजक एचएमसी नेपाल हिक्सेमीका सन्तोष कुमार श्रेष्ठ लगायतका व्यक्तित्वसहित सूचना प्रविधि क्षेत्र सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, क्यान महासंघका सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधिसम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिइन् । निजी क्षेत्र र सरकार मिलेर प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । १० वर्षमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी तथा ३० खर्बको आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खोजेको समेत उनले बताइन् ।
क्यान महासंघले यस वर्ष नीति निर्माण सम्बन्धी अवधारणा अगाडि सारेको भन्दै उनले प्रविधि क्षेत्रको विकासमा सरकारसँग नजिक रहेर काम गर्ने योजना रहेको बताइन् । “डेटा प्रोटेक्सन एक्ट, क्रिटिकल सर्भिसमा पर्ने डट एनपी सम्बन्धी नीति निर्माण गर्ने, राइड शेयरिङ सम्बन्धी नीति बनाउने, एआईका लागि अत्यन्त आवश्यक पर्ने डेटा मनिटरिङ र डेटा क्लिनजिङ सम्बन्धी काम, वैदेशिक लगानी ऐन २०२१ को संशोधन, ब्रोडब्यान्ड इन्टरनेटका लागि कर प्रणाली परिमार्जन गर्नुपर्ने, दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धी निर्देशिका बनाउनुपर्ने, सूचना प्रविधि क्षेत्रका लागि चाहिने वर्कफोर्स तयार पार्ने सम्बन्धमा क्यान महासंघले अवधारणालाई अगाडि सारेको छ,” उनले भनिन् ।
यस प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । क्यान इन्फोटेक व्यवसायीहरूले व्यापार विस्तार, नयाँ प्रविधिको प्रदर्शनी र ग्राहकसँग प्रत्यक्ष अन्तरक्रियाका लागि उत्कृष्ट अवसरको रूपमा प्रयोग हुने विश्वास गरिएको छ । प्रदर्शनीमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट(अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई(गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर लगायतका सेवा तथा उत्पादन राखिएको छ ।
यस पटक मुख्य आकर्षणमा एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारसम्म रहेको छ । त्यस्तै क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएकाले अवलोकनकर्ताको आकर्षण देखिएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् ।
साथै, क्यान इन्फोटेकमा नास्टको स्मार्ट बसमा बसेर एआई कोडिङ गर्न सकिने भएको छ । क्यान महासंघ र नास्टले इच्छुक विद्यार्थीलाई यो अवसर सदुपयोग गर्न आह्वान गरेका छन् । त्यस्तै, क्यान इन्फोटेक २०२५ मा पहिलो पटक नेपालमै निर्मित मुनाल स्याटलाइट समेत अवलोकन गर्न सकिने छ ।
क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले क्यान इन्फोटेकमार्फत नेपाली नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रका सक्रिय उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गरिएको बताए । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रवर्द्धन गर्दै ‘क्यान इन्फोटेक अफर’ अन्तर्गत छुट योजना सार्वजनिक गरेका छन् । साथै कम्पनीहरूले उपभोक्तासँग नजिक हुन अन्तरक्रिया र रमाइला खेलहरू पनि सञ्चालन गरेका छन् ।






















