काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय केन्द्रित गरेर यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागेको जनाएको छ ।
देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले मन्त्रालयले एचपीभी खोप अभियान अगाडि बढाएको जनाएको छ । यसअन्तर्गत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट खोप अभियानको शुरुवात हुँदैछ ।
खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने सरकारी भनाइ छ । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
देशैभर व्यापक प्रचारप्रसार गरी किशोरीहरु नछुट्ने गरी कार्यक्रम अघि बढाउन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले उच्च अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् । मन्त्रालयले क्यान्सरविजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रुपमा अघि सारेको छ ।
मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारीहरु विभिन्न माध्यमबाट प्रसार गरिरहेको छ । १६ लाख किशोरीहरुको खोप अभियानले महिलाहरुमा देखिने प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि योगदान दिने विज्ञहरुले बताएका छन्।
नेपालमा सन् २०२२ मा कृल मृत्यु भएका १४ हजार मध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्यांकमा उल्लेख छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ ।






















