skip this News Page Tips Ad Road Block

पेट्रोलियम पदार्थको आयात घट्यो, ६ महिनामा व्यापार घाटा ७ खर्ब नाघ्यो

काठमाडौं । मुलुकको व्यापार घाटा ६ महिनामा ७ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको नेपाल राट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह बाहेक भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

Health Tips Ad Road Block