काठमाडौं । निर्माण व्यवसायी महासंघको पूर्व घोषित आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित भएको छ । एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक भएको भन्दै महासंघले आन्दोलनका पूर्व घोषित आन्दोलनमा सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित भएको जनाएको हो ।
महासंघले विज्ञप्तिमा भनेको छ, ‘निर्माण उद्योगमा देखिएका विद्यमान समस्याहरूका विषयमा छलफल गरी भावी रणनीति तय गर्न यस महासंघको आयोजनामा २०८१ पुस २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे मागसहित महासंघ आन्दोलित भएको व्यहोरा पत्रकार मित्रहरूमा विदितै छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रमअनुसार माघ १५ को अल्टिमेटमसहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्रीज्यूहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरूसमक्ष ज्ञापनपत्र पेश गर्ने तथा केन्द्रमा महासंघले सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यूहरू, माननीय मन्त्रीज्यूहरू, प्रमुख राजनीतिक दलका नेताज्यूहरू, विभिन्न समितिका माननीय सभापतिज्यूहरू लगायतलाई ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न भएको व्यहोरा पत्रकार मित्रहरूलाई अवगत गराउँदछौं ।’
महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैक्रममा २०८१ माघ १६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र महासंघ प्रतिनिधिमण्डलबीच भएको छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मकरुपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट पूर्व घोषित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराउँदछौं ।’






















