बैतडी । सरकारले बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि भारत सरकारसँग निरन्तर छलफल गरिरहेको जनाएको छ ।
गृह जिल्ला बैतडी पुगेका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले पाटन नगरपालिका–०२ सिलङ्गास्थित सिद्धनाथ माविको वार्षिकोत्सवमा बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि भारत सरकारसँग निरन्तर छलफलमा रहेको बताएका हुन् ।
लामो समयसम्म आफूले बैतडीबाट प्रतिनिधित्व गरिरहेको बताउँदै उनले आधारभूत विकासका संरचना, विकासका आयोजना, गुणस्तरीय शिक्षा प्रदान लगायतका सेवा प्रवाहमा प्रतिवद्धता जनाए अनुसार काम भइरहेको दाबी समेत गरे ।
बैतडीका जनताले दिएको मतको सम्मानमा जनताको अहित हुने काम कहिल्यै नगरेको दाबी गर्दै उनले जिल्लाका माग र समस्या सम्बोधनमा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।
स्थायीत्वले मात्रै दिगो विकास सम्भव भएको भन्दै मन्त्री भण्डारीले राजनितिक स्थायीत्व र प्रणालीभित्रको नीतिगत त्रुटीहरुलाई सच्याउनु पर्नेमा सरकारले जोड दएका धारणा राखे ।






















