Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

७७.५ मेगावाटको धुन्साखोला जलविद्युतका लागि लगानी जुट्यो, ढुक्क भएर लगानी गर्न मन्त्रीको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उत्पादित जलविद्युतको बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

“हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार पाँच सय मेगावाट र १५ हजार मेगावाट विद्युत छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युतको बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,” मन्त्री खड्काले भने ।

विद्युत उत्पादनसँगै प्रसारण लाइन विस्तारको कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । मन्त्री खड्काले निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माण गर्न सक्नेगरी व्यवस्था मिलाइएकाले अब उत्पादित विद्युत प्रसारण लाइनको अभावले खेर जाने अवस्था नआउने उल्लेख गरे । उनले उत्पादित विद्युतको बजार सुनिश्चित रहेको र प्रसारण लाइनको कामसमेत द्रुत गतिमा हुँदै गएकाले यस क्षेत्रमा लगानी सुरक्षित हुँदै गएको बताए ।

जलविद्युत क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिनाधितो सहुलियतदरमा प्रभावित क्षेत्रका विपन्न नागरिकलाई दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म शेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले उल्लेख गरे । विपन्न नागरिकलाई धनी बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध मुलुक निर्माण हुन नसक्ने उनको भनाइ थियो ।

मन्त्री खड्काले विकासका लागि सबै दलबीच राष्ट्रिय एकता कायम हुँदै गएको बताए । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गर्दा जलविद्युत क्षेत्र मारमा परेको भन्दै उनले उक्त आदेशलाई पुनर्विचार गर्न आग्रह गरे । मन्त्री खड्काले सरकारले लिएको लक्ष्य पूरा गर्न यस्ता जलविद्युत कम्पनीले सहयोग पुग्ने भन्दै समयमै आयोजना सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

पूर्वमन्त्री एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता आयोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ताप्लेजुङ जलविद्युतको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँ भएको स्रोतको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा लाग्न निजी क्षेत्रलाई आग्रह गरे । मुलुकमा भएको ऊर्जा सङ्कटलाई समाधान गर्न ताप्लेजुङबाट उत्पादित विद्युतले सहयोग पुग्ने उनको भनाइ थियो ।

लक्ष्मी सनराइज बैङ्क लिमिटेडको नेतृत्वमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), नेपाल विद्युत प्राधिकरण, नागरिक लगानी कोष, माछापुच्छ्रे बैङ्कलगायतको लगानीमा उक्त जलविद्युत आयोजना निर्माण हुन लागेको छ । उक्त जलविद्युत आयोजना नौ वर्षको अध्ययनपछि निर्माण कार्य अगाडि बढाउन लागिएको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए । आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Health Tips Ad Road Block