काठमाडौं । सिमेन्ट उत्पादकहरुले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको बाहिर आइरहेको आरोप सत्य नभएको बताएका छन् । शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघले पत्रकार सम्मेलन गरी उत्पादक एवं व्यवसायीले कार्टेलिङ नगरेको स्पष्ट पारेको हो ।
पत्रकार सम्मेलनमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले व्यवसायीले कार्टेलिङ गरेर मूल्यवृद्धि नगरेको तर समायोजन गरेको भनाइ राखे । सिजनका बेला रेट वृद्धि हुने अभ्यास अनुसार मूल्य समायोजन भएको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘हरेक उद्योगले आफैं मूल्य तोक्ने गर्दछन् । बैंकर संघले ब्याजदर, सुन चाँदी व्यवसायीले आफैं मूल्य तोक्छ्न् । हामीले गरेको त्यस्तो होइन ।’
उनले मागमा आएकाे गिरावटका कारण उत्पादन घटाउनुपरेको, लोडसेडिङका कारण लागत बढ्न पुगेको स्पष्ट पारे । अहिले धेरै सिमेन्ट उद्योगहरु बन्द हुन पुगेको उनले सुनाए ।
‘नेपालमा विगत वर्षहरु देखि नै निर्माण कार्यमा आएको शिथिलता, आर्थिक मन्दी, पूँजीगत बजेटको न्यून विनियोजन र सो विनियोजित रकम पनि खर्च हुन नसक्नु, उद्योगहरुको नियमित र स्थिर खर्चहरु सालवसाली अभिवृद्धि हुँदै जानु, मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशत क्षमतामा उद्योग संचालन गर्न बाध्य हुनु लगायतका कारणहरुले गर्दा ठूलो लगानी रहेका प्रायः सबै नेपाली सिमेन्ट उद्योगहरु अत्यन्त ठूलो घाटा व्यहोरिरहेका छन् । ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जा रकमको व्याज र किस्ता भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केही महिनादेखि नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भईरहेको अवस्थामा जेनेरेटरबाट वैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागतमा भएको वृद्धि साथै ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग संचालन नै गर्न नसकेको अवस्था आएको छ ।’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नोक्सानी बेहोर्न नसकी नेपालमा संचालित ६५ वटा सिमेन्ट उद्योगहरुमध्ये २२ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु यस अवधिसम्ममा पूर्णतः बन्द भईसकेको उत्पादकहरुले बताएका छन् ।
संघल सिमेन्टको भाउ साउनको बिक्री मूल्यमा अधिकतम ११५ रुपैयाँभन्दा बढी नलिन सबैलाई पत्राचार गरेको पनि उल्लेख गरेको छ ।
‘साउन महिनाको उद्योगहरुको बिक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी हाललाई औसतमा प्रति बोरा अधिकतम ११५ रुपैयाँ (मुअ कर बाहेक) थप नहुने गरी बिक्री मूल्य निर्धारण गर्न सम्बन्धित सबै सदस्य उद्योगलाई पत्राचार गरिसकिएको छ।’, संघले भनेको छ ।






















