skip this News Page Tips Ad Road Block

आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको उद्घोष

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने  भएको छ । सरकारले अध्यादेशमार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो । आईटी, सफ्टवेयर एण्ड टेक्नोलोजी समितिमार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशिलता विकासका लागि पहल गर्ने जनाएको छ । चेम्बरले यसका लागि आईटी उद्यमीहरुसँग चरणबद्ध छलफल समेत गरिसकेको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए । उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण श्रोत अब आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्व भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ । सूचना प्रविधि उद्योगको विकासका लागि लगानी जुटाउनेदेखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ ।’

सर्वसाधारणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाई छ । अन्तर्राष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रुपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए । नेपालका युवाहरुलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत अध्यक्ष अग्रवालले बताए ।

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरशिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय ठूला ठूला कम्पनीको व्याकअपका रुपमा स्वदेशमै बसेर काम गर्न सकिने निर्वतमान अध्यक्ष मल्लको भनाई छ ।

चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । युवाहरुको नवप्रर्वद्धन आईडीया र सोचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्नेमा श्रेष्ठको जोड रहेको छ ।

Health Tips Ad Road Block