काठमाडौं । सोमबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ उत्पादक किसान संघले च्याउ मेला तथा परिकार महोत्सव आयोजना गर्यो ।

महोत्सवमा किसान संघ र व्यवसायीहरुले संघीय सरकारबाट पुस १५ लाई राष्ट्रिय च्याउ दिवसको घोषणा गर्नुपर्ने चर्काे माग गरे ।
किसान र व्यवसायीको कुरा सुनेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ जानुपर्ने बताए ।
मन्त्री अधिकारीले नेपालीहरुमा च्याउ खाने बानी बढेसँगै च्याउको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले नेपाल च्याउमा आत्मनिर्भरतातर्फ उन्मुख रहेकाले विस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘यसका लागि सरकार, निजी क्षेत्र र किसानहरूको संयुक्त प्रयास आवश्यक देखिन्छ, उनले भने ।
च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरीरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले यस आर्थिक वर्षभित्र च्याउ खेतीका लागि सिफारिस जातहरु पंजिकरण गर्ने र गुच्छी च्याउ, धमिरे च्याउ, लेटिपोरस जस्ता बहुमुल्य र पौष्टिक जातहरुको पनि अनुसन्धान सुरुवात गरेको बताए । ती जातहरुको बिजन उत्पादनमा सफलता हात परेको एवं खेती प्रविधि विकासका लागि काम भईरहेको जानकारी दिँदै मन्त्री अधिकारीले यस अनुसन्धान पश्चात प्रसार कार्य गर्न कृषि मन्त्रालयले कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरणतर्फ जानु जरुरी रहेकोमा जोड दिए ।
किसान चित्रराज तिमल्सिनाले कृषि क्षेत्रमा भएको भ्रष्टचार अन्त्य गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । च्याउको आधुनिकीकरणका लागि प्रविधि र सामान आयातमा कर नलगाइयोस्, उनले भने ।
च्याउ अभियन्ता एवं राजा च्याउका स्टलमार्फत प्रवद्र्धनमा रहेका उद्यमी दिपक न्यौपानेले हाइटेक प्रविधिमा गएकाहरुलाई सरकारले बीमा सुविधा, सहुलियत ॠणको व्यवस्था गर्नुपर्ने बताए । कालीमाटी बजारमा उत्पादकहरुको च्याउ बिक्री गर्ने सुविधा उपलब्ध हुनुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । सरकारले च्याउ उत्पादकलाई बिजुली महशुलमा सहुलियत दिनुपर्ने, दशदेखि पन्ध्र वर्षमा फिर्ता हुनेगरी बिना ब्याजमा सरकारले लगानी रकम दिएर च्याउ खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले च्याउ किसानका बारेमा प्रकाश पार्दै उत्पादनकर्ताको समस्या समाधान गराइदिन सरकारको ध्यानाकर्षण गराए ।
कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जालले हाइटेक प्रविधि लगायत च्याउ खेतीबारे गुरुयोजना अगाडि बढाइएको र राष्ट्रिय च्याउ दिवस घोषणा प्रक्रिया पनि अगाडि बढेको बताए ।
राष्ट्रिय किसान आयोगका सदस्य टेक बहादुर बोगटीले च्याउ खेतीलाई आत्मनिर्भर बनाउन र आयात प्रतिस्थापन गर्ने दिशामा आवश्यक भूमिका खेल्ने बताए ।
बागमती प्रदेश सभा सदस्य मधुसुदन पौडेलले प्रदेश सरकारको तर्फबाट च्याउ उत्पादनको आधुनिकीकरण र नयाँ प्रविधिको प्रयोगमा सहयोग गर्ने भन्दै विषादीको अत्याधिक प्रयोग हुने विषय अन्त्य गर्न कृषकलाई आग्रह गरे । स्वदेशी उत्पादनको प्रवर्द्धनमा लागौं भन्दै उनले भएका समस्या समाधान गर्न प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए ।
महोत्सवमा उत्कृष्ट च्याउ कृषक एवं उद्यमीहरुलाई सम्मान गरिएको थियो ।
























