काठमाडौं । सरकारले नयाँ ज्ञान, सिप, क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा ल्याउने उदेश्यसहित उपलब्ध गराउन लागेको स्टार्टअप कर्जाका लागि आवेदनको छनोट प्रक्रिया सुरु गरेको छ । यस कर्जाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले छनोट प्रक्रिया सुरु गरेको हो ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले गठन गरेको मूल्याङ्कन समितिले कार्यविधिमा तोकिएको योग्यताबमोजिम प्राप्त परियोजनाको प्रारम्भिक सूची तयार गर्ने काम अघि बढाएको उल्लेख गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्टार्टअप उद्यमका लागि एक अर्ब रुपैयाँ कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । बिनाधितो तीन प्रतिशत ब्याजदरमा अधितकम २५ लाख रुपैयाँसम्ममा पाइने उक्त कर्जाका लागि पाँच हजार १५८ वटा परियोजना प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
प्राप्त परियोजनामध्ये प्रतिष्ठानले योग्यता पुगेका परियोजनाको प्रारम्भिक सूची छनोट गर्ने प्रक्रिया सुरु गरेको हो । छनोटमा विभिन्न मापदण्ड बनाइएको छ ।
मापदण्ड पूरा गरेका परियोजनालाई प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी निश्चित मिति र समय तोकेर व्यावसायिक योजना प्रस्तुतीकरणका लागि बोलाउने मन्त्रालयको स्पष्ट पारेको छ ।
























