Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने गरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्यााउन प्रथम बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव हुने भएको छ । २४ डिसेम्बर देखि अँग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसम्म बेलुन महोत्सव हुने भएको हो । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गर्न लागिएको आयोजकले बेलुन नेपाल प्रालिले जनाएको छ ।

पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक यो महोत्सव आयोजना गर्न लागेको हो । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरू पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिवलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुने बेलुन नेपाल प्रालिका कार्यकारी निर्देशक सविन महर्जनले जानकारी दिए ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने उनले जानकारी दिए । त्यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकहरूको लागि प्रमुख आकर्षण हुन सक्ने आयोजकको भनाइ छ। यसलाई भव्य बनाउँदै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ् पनि आयोजना हुनेछ ।

बेलुन नेपाल प्रालिका सञ्चालक विष्णुबहादुर ढकालले फेस्टिवलका माध्यमबाट समग्र पोखराको पर्यटनलाई योगदान पुर्याउने र मुलुकको अर्थतन्त्र बढावा दिनका लागि सहयोग गर्ने बताए । १ लाख ५० हजारभन्दा बढी मानिसको सहभागिता रहने महोत्सव आयोजना गर्नका लागि ७ करोड लाग्ने आयोजकको भनाइ छ ।

महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक ब्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपःब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति पनि दैनिक रुपमा हुने आयोजकले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए) पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ । यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् । न्यू मेक्सिकोमा वार्षिक रूपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ । हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागी हुने गर्छन् ।

ब्रिस्टल अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल( इङ्गल्याण्ड सागा अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल– जापान मोन्डियल एयर बेलुन इभेन्ट( फ्रान्स, र टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बेलुन फेस्टिबल विश्वभर आयोजित विश्व प्रसिद्ध बेलुन महोत्सवहरू हुन्।

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यवसायिक बेलुन उडानहरू सञ्चालन गर्दै आएको छ। यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो, जसले विश्वव्यापी बेलुनिङ समुदायमा कम्पनीको बढ्दो उपस्थिति देखाएको थियो।

Health Tips Ad Road Block