काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले रोजगारीका लागि विदेश जाने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा नियमित योगदानको व्यवस्था गर्न माग गरेको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८१ को पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै महासंघले वैदेशिक रोजगार ऐनमा संशोधन, सामाजिक सुरक्षा योजना सञ्चालन कार्यबिधी संशोधनको माग गरेको छ । जिफन्टले विदेश गएर आगामी दिनमा पुनः विदेश नजाने गरी नेपाल फर्किएकाको हकमा पालिका र श्रम यूनियनमार्फत सामाजिक सुरक्षा कोषमा जोड्न पनि सरकारसमक्ष माग गरेको छ । यसो भएमा वैदेशिक रोजगार व्यवस्थित हुन जाने जिफन्टको दाबी रहेको छ ।

फ्याक्टसिट सार्वजनिक गर्दै जिफन्टले भनेको छ, ‘नेपाल सरकारले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ मंसिर २८ गते जारी गरेर सामाजिक सुरक्षा कोषमा सूचिकरण अनिवार्य गरेको छ। कोषमा सूचिकरण अनिवार्य गरेपछि २०८१ साल मंसिर २८ गतेसम्ममा तेह्र लाख एक हजार अठहत्तर जना श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत भएर वैदेशिक रोजगारमा गएका छन्। ति श्रमिकले प्रतिव्यक्ति न्यूनतम पारिश्रमिक १०८२० लाई आधार मानेर २१.४७ प्रतिशतले मासिक २३,२३,०५४ का दरले तीन अर्ब बाइस करोड सट्चालिस लाख चार हजार चारसय बाउन्न रुपैयाँ योगदान गरेका छन् । तेह्र लाख मध्ये पछिल्लो तीन महिनाको अवधिमा विदेश गएका करिब ६० हजार श्रमिकको योगदान मात्र नियमित रहेको छ। बाँकी बाह्र लाख एकचालिस हजार अठहत्तर जना श्रमिकको योगदान नियमित छैन। योगदान रकम नियमित नभएका श्रमिक समस्यामा पर्दा सामाजिक सुरक्षा कोषबाट सुविधा नपाउने अवस्था छ । वैदेशिक रोजगारीमा गएका श्रमिकको नियमित योगदानको सुनिश्चितता गर्नु वर्तमान समयको प्रमुख चुनौती हो। तत्कालीन सरकारले पूर्व तयारी बिना काम देखाउन गरेको घोषणा भएपनि जिफन्टले त्यसै बेला जारी भएको कार्यविधिमा रहेको कमजोरीलाई हटाउँदै क्रमश कार्यान्वयन गर्नु पर्छ भनेको थियो। तसर्थ नेपाल सरकारले गन्तव्य देशका सरकारसँग पारस्परिक सम्झौता तथा सामाजिक सुरक्षा कार्यविधि अविलम्व संशोधन गरी प्रवासमा रहेका नेपाली श्रमिक अप्ठ्यारोमा पर्दा सुविधाबाट बञ्चित हुन नपर्ने सहज वातावरण तयार गर्नु पर्दछ ।’

महासंघले व्यक्तिगत सम्पर्कबाट विदेश जानेको तथ्याँक डरलाग्दो रहेको भन्दै चिन्तासमेत व्यक्त गरेको छ । यसैगरी ७ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको जिफन्टको दाबी गरेको छ । रेमिट्यान्सको मात्रा बढेपनि वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण हुन नसकेको भन्दै जिफन्टले सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तो छ जिफन्टले सार्वजनिक गरेको फ्याक्टसिट






















