काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वड़ा नं. २ मा नयाँ साइट निर्माण गरी मंसिर १६ गते देखि टूजी/फोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो ।
जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने बासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।
दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुऱ्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डाटा सेवाको विस्तार गरेको जनाएको छ । यससँगै यस भेगका स्थानीयबासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।





















