काठमाडौं। विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । सोमबारदेखि जारी सम्मेलन आज सम्पन्न हुँदैछ । फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा उद्घाटन भएको सम्मेलन नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्रस् (स्काएफ)को आयोजनामा भएको हो ।
२३ देशको प्रतिनिधि तथा १०० जनाभन्दा बढी अन्तर्राष्ट्रिय र ३०० जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरूको सहभागितामा रहेको सम्मेलनमा फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीसले जलवायु परिवर्तन जस्तो संवेदनशिल विषयमा केन्द्रित यसप्रकारको महत्वपूर्ण सम्मेलन सम्मेलनमा मात्र सिमित पार्ने भन्दा पनि सम्मेलनबाट आएका विषय वस्तुलाई कार्यान्वयन तहमा पुर्याउनुपर्ने बताइन् । साथै, उनले यसका लागि फिडिक जस्तो संस्था निरन्तर लागि रहेको र आगामी दिनमा पनि सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएकी छन् ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले यस सम्मेलनबाट जलवायु परिवर्तनबाट निम्तिएका समस्या समाधान गर्न र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा उचित सल्लाह र सुझाव आउनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘यो सम्मेलनमा उठेका विषय र छलफलबाट आएका निष्कर्षहरु हामी जस्तो जलवायु परिवर्तनको असरबाट जुधिरहेका देशकहरुका लागि एउटा मार्गचित्र हुनसक्छ । यो सम्मेलनले नीति निर्माण तहमा हामीलाई पक्कै पनि सहयोग पुर्याउने छ ।’
आयोजक स्काएफका महासचिव ई. कमल कार्कीले यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्न पाउनु आफैँमा महत्वपूर्ण उपलब्धी भएको र सम्मेलनबाट आउने सुझाव र मार्गनिर्देशलाई सम्बन्धीत तहसम्म पुर्याएर त्यसको कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताए ।
‘गभर्नेन्स फर क्लाइमेट सक्स’ भन्ने मुख्य विषयवस्तु रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपदलाई सम्बोधन गर्ने प्राविधिक तथा नितिगत विषयमाथि ७ वटा विशिष्टिकृत शिर्षकमा छलफल भइरहेछ ।
विपदको जोखिमले आक्रान्त बनिरहेको सन्दर्भमा विश्व समुदायका लागि सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ ।






















