Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साढे सात प्रतिशतको मूल्यवृद्धि करिब ५ प्रतिशतमा झर्यो, सुदूरपश्चिम र कोशी प्रदेशमा सबैभन्दा बढी मूल्यवृद्धि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अघिल्लो वर्षको असोजसम्ममा ७.५० प्रतिशतमा रहेको मूल्यवृद्धि यो वर्षको असोजसम्ममा ४.८२ प्रतिशत मात्रै देखिएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्ष मुद्रास्फीति घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्याँकले मूल्यवृद्धि घटेको देखाएको हो । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ भने माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.०० प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याँकमा उल्लेख छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६ प्रतिशत, मधेश प्रदेशको ५.०८ प्रतिशत, बागमती प्रदेशको ४.२४ प्रतिशत, गण्डकी प्रदेशको ३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.४२ प्रतिशत, कर्णाली प्रदेशको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको छ ।

यो अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५० प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ ।

Health Tips Ad Road Block