काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा निजी क्षेत्रमा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो रकम गत असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असारदेखि असोजसम्ममा १ खर्ब ९ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्याँकअनुसार लक्ष्यको धेरै कममात्रै कर्जा प्रवाह भएको देखिन्छ । आर्थिक गतिबिधि सुस्ताएपछि अपेक्षितरुपमा कर्जाको माग बढ्न नसकेको र बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् । तरपनि कर्जाको माग बढ्न सकेको छैन ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरुको २.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।






















