धादिङ । ग्रामिण भेगमा जनताको मुख्य आय श्रोत कृषि उत्पादन हो । सरकारबाट कृषिमा आत्मनिर्भर बन्न विभिन्न योजनाहरु ल्याईएता पनि दिनदिनै कृषिमा आधारित जनशक्तिहरु रोजगारीका लागि विदेश जाने क्रम बढ्दै जाँदा देशैभर खेतीयोग्य जमिनहरु बाँझै हुन थालेका छन् । गाँउ घरमा प्रायः वृद्द उमेरका मानिसहरु मात्र हुने, दुःखले खेती गरिएको जमिनमा पनि खेती भित्र्याउने समयमा बाँदरले नष्ट गरिदिँदा कृषकहरु धेरै चिन्तित भइरहेका छन् । फलफूल तरकारी र अन्नबालीहरु बाँदरको मुख्य निसाना बनीरहेको वर्तमान अवस्थामा धपाउन जाँदा बाँदरको हजारिया फौजको आक्रमणमा परिने डर र दुखेसो पोख्छन् स्थानीय किसानहरु ।
यसको मुख्य कारण कृषिमा आधारित जनशक्ति अभावमा खेतियोग्य जमिन झाडी र जंगलमा परिणत हुँदै गरेको र पहिले–पहिले बाँदर बस्ने जंगलमा आहार नपाउँदा आहार खोजीमा गाँउ पस्न थालेको बुझाई छ धादिङ स्थित गंगाजमुना गाँउपालिकाका स्थानीय चन्द्र थापाको ।

कुनै समय यस्तो थियो जंगल पसेर भोको मानिस अघाएर गाउँ फर्किन्थ्यो आज खानेकुराको खोजीमा जंगलबाट बाँदर गाउँ र शहर पस्ने कारण बाँदर आतंक बढ्दो छ ।
यसरी किसानहरु खेती किसानीमा निरास हुँदै गर्दा प्रदेश सरकार र स्थानीय सरकारको खासै ध्यान पुग्न नसकेको गुनासो गर्छन् उनी । यसको अल्पकालिन र दिर्घकालिन समाधान कसरी गर्न सकिन्छ ? यस्ता समस्याहरु हाम्रा मुलुकमा मात्रै हैन अन्य मुलुकमा पनि होला, कसरी समाधान गरिएको छ यसतर्फ सरकारको तत्काल ध्यान पुगोस् र जसवाट किसानको आत्मबल बढ्ने छ भन्छन्, चन्द्र थापा ।
कानुनत संरक्षण गर्दा पनि बाँदर आतंक बढ्दै गएको छ । कतिपय स्थानमा बाँदरका साथै दुम्सी, सुँगुर लगायत जंगली जनावरको आतंक हुने गरेकाे छ । धान, मकै, गहुँ, जौ लगायत बालीलाई वन्यजन्तुले ज्यादा आक्रमण गर्ने बाली हुनाले रुट क्रप अदुवा, बेसार लगायत खेतीमा कतिपय पालिकाले प्रोत्साहन गर्ने गरिएको पनि पाइन्छ ।

यसो भनिएतापनि अब जंगली जनावरले खाद्य बालीमा पार्नसक्ने नोक्सानीबाट बचाउन तीनै तहका सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।






















