Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’– अध्यक्ष प्रचण्डले भने, ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’

उनले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताए ।

जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर बिद्रोह गरेर गएको उल्लेख गर्दै उनले भने, ‘क्रान्तिको खोजीमा निस्कनु तपाईहरुको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरु ढिलोचाँडो एक ठाउँमा हुने छौं, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौं ।’

अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरुमा जाँदा २०६४ कै झल्को आउने गरी जनआकर्षण देखिन थालेको बताए ।

सो क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर विक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा थारुले जानकारी दिए ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block