काठमाडौं । जाडो बढ्दै जान थालेपछि मानिसहरुमा रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, एलर्जी हुने समस्याहरु हुने गर्दछ । जाडोको कारणले रक्तनली साँघुरो भएर जान्छ, यसले गर्दा रक्तचाप बढ्दछ । त्यसैगरी पक्षघात हुन सक्ने खतरा रहन्छ । मुटुसम्बन्धी समस्या हुनेहरूलाई हृदयघात हुनसक्ने खतरा रहने चिकित्सकहरुको भनाइ छ । जाडो बढेसँगै जनजीवन कष्टकर हुनुका साथै बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई अझ बढी सकस हुन थालेको छ । मुख्यतः चिसोका बेला बाथ, श्वासप्रश्वास, दम र मुटुरोगीले बढी सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।
चिकित्सककाअनुसार बाथसम्बन्धी व्यथाले मासु र हड्डीहरु तन्किन पाउँदैनन्, जसले गर्दा बिरामीलाई समस्या हुने गरेको छ । सामान्य अवस्थामा रहेको व्यक्तिलाई पनि भाइरलको संक्रमणले सताउँछ । विशेषज्ञ डाक्टर डा. अनुप सुवेदीका अनुसार जाडोमा बढी रुघाखोकी लाग्नुको प्रमुख कारण भनेको गर्मी समयमा चलिरहेको जीवनशैलीमा एक्कासी परिवर्तन भएर हो ।
अत्याधिक चिसोका कारण छालासम्बन्धी समस्या हुने, धेरैको हात, खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने जस्ता समस्या हुने विशेषज्ञहरुको भनाइ छ । चिसो मौसम बढेसँगै दिर्घ रोगी र निमोनियाबाट ग्रसित मानिसलाई अझ अप्ठ्यारो पर्ने गर्दछ ।
चिसो मौसमबाट बच्न सर्वसाधारणहरुले सकेसम्म न्यानो भएर बस्नु पर्ने, दिर्घ रोगीहरु चिसोका समयमा घर बाहिर ननिस्कने जस्ता उपाय अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।






















