काठमाडौं। सरकारले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । पछिल्लाे मन्त्रीपरिषद्ले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी मन्त्रालयले जानकारी दिँदै चालु आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट निःशुल्क उपचार हुने जानकारी दिइएको छ ।
यसअनुसार अब कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलनको उपचार निःशुल्क हुने भएको छ ।
जलनको निःशुल्क उपचारसम्बन्धी प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले असोज ३० गते मन्त्रीपरिषद्मा लगेका थिए । त्यस्तै जलनका बिरामीको उपचार निःशुल्क गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएको छ । मन्त्रालयले बनाएको कार्यविधिमा जलनका बिरामीको निःशुल्क उपचार जिल्ला तहका अस्पतालबाट गर्ने उल्लेख छ ।
कार्यविधि अनुसार जटिल खालको बिरामीका लागि पाँच लाखसम्म उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको छ ।























