काठमाडौं । प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम ऐन–२०८१ को मस्यौदामा छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा मस्यौदाबारे छलफल भएको हो ।
मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू सिटिइभिटीका सदस्य सचिव र निर्देशकहरू सहभागी भएको छलफलमा ऐनको मस्यौदाका विविध पक्षमा आ–आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, संघीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तरमन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सहभागीहरूले आ–आफ्ना सुझाव तथा विचार राखेका थिए ।
छलफलकाक्रममा मन्त्री भट्टराईले प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदालाई सरोकारवालाहरूसँग अझै छलफल गर्ने र परिपक्व ऐनको मस्यौदा तयार गर्नु पर्ने विषय उल्लेख गरेकी थिइन् ।