Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डलर सटहीको सीमा बढ्यो, विदेशी मुद्राको सञ्चिती बढेपछि राष्ट्र बैंक लचिलो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ढुकुटीमा अधिक विदेशी मुद्रा भएपछि नेपाल राष्ट्र बैंकले डलर सटहीको सीमा बढाएको छ । यसले वस्तु आयात गर्नलाई सहज हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत परिपत्र जारी गर्दै विदेशी मुद्रा सटहीको सीमा बढाएको हो ।

यसअघि वस्तु आयातको सीमा १० हजार डलर रहेकोमा अब हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने भएको छ ।

नयाँ व्यवस्था अनुसार विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकहरूलाई प्रकृया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसअघि यस्तो अवस्थामा १० हजारसम्म सटही सुविधा थियो ।

विदेशी मुद्रा सटही र वस्तु आयातका लागि गरिने बैंक ग्यारेन्टी (एलसी) अवधिमा पनि खुकुलो व्यवस्था गरिएको छ । राष्ट्र बैंकले वस्तु आयातका लागि आयातकर्ताले पेस गर्नुपर्ने ट्रान्सपोर्ट डकुमेन्टको अवधि बढाएको छ भने वस्तु आयातपछि भुक्तानी गरिने विदेशी मुद्रा सटही सुविधाको अवधिसँगै सामान आयात गर्नुपर्ने अवधि पनि बढाएको छ।

सटही सुविधा प्राप्त भएको ९० दिनभित्र सामान आयात गरिसक्नुपर्ने व्यवस्थालाई संशोधन गरिएको छ। अब १२० दिन पुऱ्याइएको छ।

यसैगरी अब होटलहरूले प्रति ग्राहक अधिकतम् १ हजार डलर एक बसाई अवधिमा एकै पटक वा पटक–पटक गरी सटही प्रदान गर्न सक्नेछन्। यसअघि यस्तो सुविधा ३०० डलर मात्रै थियो।

यसअघि युरोप, जापान, अमेरिका, क्यानडा र दक्षिण कोरिया जानेलाई मात्रै ५०० डलर सटहीको सुविधा अब रोजगारीका लागि अस्ट्रेलिया जानेहरुका लागि पनि हुने भएको छ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा खुलेका शिक्षण संस्थाहरुलाई सम्बन्धन, परीक्षा लगायत शुल्कहरुको भुक्तानीका लागि २५ हजार डलरसम्म सटही सुविधाको व्यवस्था गरिएको छ । यसअघि १२ हजार डलर मात्रै सटही सुविधा दिन सक्ने व्यवस्था थियो।

Health Tips Ad Road Block