काठमाडौं । तीन दिनको वर्षा र बाढीपहिरोको जोखिमका कारण तीन दिनका लागि मुलुकभरका शैक्षिक संस्था बन्द गरिएको छ ।
त्यसैगरी विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको छ ।
यता विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई अर्को दिन परीक्षामा सहभागी गराउने निर्णय पनि गरिएको छ ।
हाल विश्वविद्यालयहरुमा स्नातक तहका विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको छ । त्यस्तै अधिकांश विद्यालयमा कक्षा १२ सम्मकै विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुँदै छ । आइतबार स्थगित विश्वविद्यालय तहका परीक्षा अन्तिम परीक्षा सकिएको दिनको भोलिपल्ट सञ्चालन गर्न निर्देशन दिइएको छ ।
बिहीबार साँझदेखिको झरी, बाढी र पहिरोका कारण उपत्यकासहितका बाहिरका जिल्लाका शैक्षिक संस्था डुब्नुका साथै पहिरोले पुरिएका छन् ।






















