काठमाडौं। आज सेप्टेम्बर २७ अर्थात् ४५ औं विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। देशैभर वर्षा भइरहेकाले विगत वर्षहरुमा भन्दा आजको दिवस मनाउन अप्ठेरो भएको छ तापनि दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरिरहेका छन् । दिवसलाई भव्यरूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५ औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।
यसपटकको दिवसको नारा ‘पर्यटन र शान्ति’ रहेको छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत सत्कार गर्नुका साथै पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत विविध कार्यक्रम गरिएका छन् ।
पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका हुन् । दिवसलाई भव्य र सभ्यरूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा देशैभर कार्यक्रम राखिएका छन् ।
दिवसकै सन्दर्भमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव राखिएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएका ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले जनाएका छन् । महोत्सवमा संस्कृति, संगीत, कला र खानाको अद्धितीय संयोजन रहनेछ ।
दिवसका सन्दर्भमा पर्यटनमन्त्री बद्री पाण्डेले शुभकामना दिँदै नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्न लागिपर्ने बताएका छन् ।
नेचर, कल्चर र एड्भेञ्चरमा नेपाल विश्वमै एक उत्कृष्ट गन्तव्य हो । दिवस मनाइरहँदा आज नेपालको आर्थिक क्षेत्रका खम्बामध्ये एक मानिएको पर्यटनबाट विदेशी मुद्रा भित्र्याई पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुऱ्याउन पर्यावरणमैत्री पर्यटन, समुदायमा आधारित पर्यटनलाई जोड्दै आवश्यक पूर्वाधार निर्माण गर्नु जरुरी देखिन्छ ।