skip this News Page Tips Ad Road Block

टान अध्यक्षमा सागर पाण्डे निर्वाचित(विजयी हुनेको सूचिसहित), को हुन् अध्यक्षमा निर्वाचित पाण्डे ?

काठमाडौं । पदयात्रा व्यवसायीहरुको अग्रणी तथा साझा संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको मतदान र मंगलबार बिहान सार्वजनकि नतिजाअनुसार ५८० मतसहित पाण्डे निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।

पाण्डे नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी हुन् । निर्वाचन मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाए । त्यसैगरी प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित निर्वाचित भए । अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत पाए । द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाए ।

महासचिवमा ५५० मतसहित सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भए । महासचिवका अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीले ४९४ मत पाए । यसैगरी सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्वा शेर्पा विजयी भएका छन् ।

यसैगरी महिला सदस्यमा पवित्रा तामाङ तथा खुला सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोद कुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् ।

 

साइन्स पढेर पर्यटनमा लागेका को हुन् टान अध्यक्षमा विजयी पाण्डे ?

गोरखा घर भई हाल काठमाडौं बस्ने सागर पाण्डे ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय छन् । काठमाडौंमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताएका पाण्डे साइन्सको विद्यार्थी भएर पनि पर्यटक क्षेत्रमा लागेको ३ दशक बितेको छ ।

उनको अनुभवमा पर्यटन क्षेत्रले जुन गतिमा फड्को मार्नुपर्ने हो त्यो हुन नसक्दा नेपालको पर्यटन सम्भावना भएर पनि शिथिल भइरहेको छ । त्यसैले उनले यसपालि टानको नेतृत्व गरेर पर्यटन क्षेत्रको विकासमा लाग्ने सोच अघि सारेका थिए र निर्वाचित पनि भए । निरन्तरताका लागि पद ओगट्ने नभई साँच्चै केही गरेर देखाउने अठोटका साथ उनी टानको नेतृत्वमा आएको बताउँछन् ।

देश विदेशको पर्यटन क्षेत्रको ज्ञान प्राप्त गरेका पाण्डे परिवर्तित समय अनुसार पर्यटक क्षेत्रलाई अघि बढाउनका लागि राज्य र निजी क्षेत्रको सहकार्य जरुरी रहेको औँल्याउँछन् ।

पाण्डे यसरी लागे पर्यटन क्षेत्रमा

गोरखाको भीमसेन गाउँपालिका ६ अस्राङका पाण्डे परिवारको कान्छो सदस्य हुन् । महान्यायाधिवक्ताको कार्यालमया खरदार भएकाले बुबा काठमाडौंमा बस्दथे । त्यही बेला उनको जन्म काठमाडौंमा भएको हो । उनका ३ दिदी छन् । विसं २०३३ सालतिर छुट्टाभिन्न भएपछि आमा गोरखा फर्कनुपर्ने भयो । काखे बालखा उनी आमासँगै गोरखा गए । उनले सात कक्षासम्म अस्राङको चण्डी निमाविमा पढे ।

त्यतिबेला बोर्लांडमा प्रस्तावित मावि बनेको थियो तर उनी गोरखा सदरमुकाम पोखरीथोकमा रहेको शक्ति माध्यामिक विद्यालयमा ८ कक्षा भर्ना भए । डेरा लिएर ३ वर्ष त्यहाँ पढेपछि २०४४ सालमा पहिलो डिभिजनमा पास गरे । त्यसपछि अमृत साइन्स क्याम्पस काठमाडौंमा २०४५ सालमा भर्ना भए ।

त्यही बेला आमा विरामी हुँदाहुँदै पनि आइएससी सके । फिजिक्स पढेकाले इन्जिनियरतर्फ जाने चाहना भएकाले जुओलोजी भर्ना हुन त्रिचन्द्र गएर २०४९ सालमा विएससी सके । त्यसपछि कि भारत की अमेरिका जानुपर्ने अवस्था आयो । त्यो बेला नेपालमा त्यो एड्भान्स कोर्स आइसकेको थिएन ।

त्यही कारण उनी पर्यटक क्षेत्रसँग जोडिए । अनुभव नहुँदानहुँदै जोडिँदा उनीसँग दुई कुराको ज्ञान भने थियो । पाण्डे भन्छन्, “एउटा पठाई साइन्स परेको र अर्को ट्रेकिङ रुटको बारेमा भौगोलिक अवस्था बारे पढाइकै सिलसिलामा जानकारी लिएकाले समस्या भएन । कहाँ कति हाइट, कहाँ डाँडा, कहाँ खोला छ ? भन्ने कुरा मलाई सजिलै थाहा भयो ।”

शुरुमा काम गर्दागर्दै पर्यटन व्यवसायीकै रुपमा प्रवेश गरे । पार्टनरसीपमा ३ वर्ष काम गरे । त्यसपछि साथीहरुसँग स्वभाव मिलेन । संस्थागत विकास भए दीगो हुन्छ भन्ने चाहना उनको थियो । त्यसपछि सन् १९९८ मा हिमालयन ग्लासियर ट्रेकिङ भनेर शुरु गरे । व्यापार सम्बन्ध बनाउँदै अघि बढ्दा २००३ मा होटल इन्काउन्टर खोले ।

मान्छेलाई खाने र बस्ने त अपरिहार्य हो, चाहे महँगोमा या सस्तोमा खाओस्÷सुतोस् भन्ने सोचले उनी होटलमा प्रवेश गरेका हुन् । फुपुको छोराले पनि पर्यटन र एकाउन्टेन्ट पढेको हुनाले उनीसँगै कम्पनी चन्दै आयो । होटल र हस्पिटालिटीको विकास गरेर सेवा दिन थालेको पनि अहिले २४ वर्ष भइसकेको छ ।

कोभिडपछि मान्छे निरास थिए । पर्यटन क्षेत्रमा लगानी ठिक होइन भन्नेमा थिए । “मलाई अवसरहरु क्राइसिसमै हुन्छ, हामीले देख्ने या नदेख्ने भन्ने चाहीँ ठूलो हो, सोचाई फरक हुनसक्छ, तर हामीले केही गर्न सकिन्छ भन्ने सोचपछि ठमेलमा पुरानो बिजनेश थियो । म्यानेजमेन्ट हुन सकेको थिएन मैले टेकअप गरेर काठमाडौं ग्रिल रेष्टुरेन्ट एण्ड वाइन बार भनेर फष्ट क्लासको रेष्टुरेन्ट शुरु गरेको हुँ”, उनले अनुभव सुनाए । त्यसमा कोठाहरु पनि १५, १६ वटा छ । यसरी हेर्दा उनले ३० वर्ष पर्यटन क्षेत्रमा बिताइसकेका छन् ।

टान नेतृत्वमा किन ?

टान ट्रेकिङ व्यवसायीहरको छाता संगठन हो । यो १५ सय हाराहारीमा सक्रिय सदस्यहरु नै भएको संस्था हो । यी संस्थाहरुको हकहितका लागि सबै व्यवसायीको साझा आवश्यकता र समस्यालाई कसरी आफ्नो तर्फबाट र राज्यसँग जोडिएका प्रश्नको समाधान गर्न सकिन्छ भन्नका लागि संस्था खुलेको हो ।

उनका अनुसार समय जसरी परिवर्तन भएको छ, व्यापारको मोडालिटी, उपभोक्ताको बानी बेहोरा रुचि, ट्राभल गर्ने तरिकाहरु परिवर्तन भएको छ । नेपालमा नीतिहरु समय सापेक्ष परिवर्तन नहुँदा समअनुकुल प्रतिफल दिने अवस्था नरहेको उनी सुनाउँछन् ।

उनले विगतमा सन् २०१३–१५ को महासचिव भएर काम गरे । सन् २०१५ को अध्यक्षको प्रतिष्पर्धी पनि थिए । पछिल्लो सममयमा उद्योगको एक हिसाबले गार्जेनसिपमा आइसकेको हुनाले आफूले प्राप्त गरेको ज्ञान सिप र अनुभवका कारण नेतृत्व लिने सोच पलाएर टानमा आएको बताउँछन् ।

धेरै उद्योगीहरुको भनाइमा अहिलेसम्म हेर्दा टानको नेतृत्वको निरन्तरता मात्रै भयो भन्ने आइरहेको पनि छ । उनी भन्छन्, “मेरो व्यक्तिगत रुपमा टानका पूर्वअध्यक्षहरुले केही पनि गर्नुभएन भन्ने होइन । तर पछिल्लो समयमा राज्यले पनि आर्थिक अवस्थालाई माथि लैजान पर्यटनको विकास गर्नुपर्छ भन्ने अवधारणा पनि जबरजस्त उठेको छ ।”

पाण्डेका अनुसार आम नागरिकले पनि बुझेको अवस्था छ पछिल्लो समयमा नेपाली पनि पर्यटकका रुपमा बाहिर धेरै जाने गरेका छन् । त्यसकारण समय सापेक्ष जुनरुपमा प्रतिफल पाउनुपर्ने हो पाउन नसकिएको उनी बताउँछन् ।

उनका अनुसार चुनौती टान एक्लैले सामना गर्न सक्ने होइन । उनको चाहना भने पर्यटन क्षेत्रमा लागेका सबै संघसंस्थालाई एक ठाउँमा ल्याउने र त्यसको नेतृत्व टानले गर्ने अनि समस्या सधानका लागि राज्यलाई झक्झक्याएर पूरा गर्न राज्यलाई बाध्य पार्ने रहेको छ । त्यसकारण समग्र पर्यटन विकास र व्यवसायमा जोडिएका समस्या समाधान गर्न ढिला गर्न नहुने उनी बताउँछन् ।

राष्ट्रिय एयरलाइन्सलाई सुधार गर्नैपर्छ

पाण्डेका अनुसार अर्को कुरा कुनै पनि पर्यटन विकासको आधारभूत विषय भनेको त्यो देशको राष्ट्रिय एयरलाइन्स हो । नेपालको सन्दर्भमा नेपाल एयरलाइन्स हो । आज हाम्रो एयसलाइन्को अवस्था के छ ? “नयाँ मन्त्री आयो एयरलाईन्सले यती फाइदा गर्यो । यो स्थापना एक दुई अर्ब फाइदाका लागि हो की समग्र पर्यटन विकासका लागि अघि बढाउन भएको हो । भने आज स्थापना ५० वर्ष बढी भइसकेको छ । विकास राम्ररी हुन सकेको छैन । त्यसैले यसको विकास नभई पर्यटन विकास सम्भव छैन”, उनले भने ।

अर्को राज्यको पनि समस्या हो । हामी हतियार उत्पादन गर्दैनौँ, सफ्वेयर छैन । कृषिमा पराश्रित छौँ सबै हेर्दा राज्य आर्थिक रुपमा पछि परेको उनको बुझाइ छ । त्यसकारण वर्षमा ३० लाख पर्यटक भित्र्याउन के गर्ने भनेर लाग्न जरुरी छ । त्यसका लागि उनको बुझाइ नेपाल एयरलाईन्सको व्यवस्थापमा आमूल परिवर्तन गर्न जरुरी छ ।

जुन रुपमा एयरलाइन्सको विकास भएको छैन त्यहाँ पक्कै समस्या छ । थाइ र नेपाल एयरलाइन्स एकै समयमा स्थापना भएको हो । थाई कहाँ पुग्यो । त्यसकारण प्राइभेट सेक्टरको राज्यलाई दबाब दिनु जरुरी छ । नेपाल एयरलाइन्सको व्यवस्थापन पुनर्संरचना गर्न जरुरी रहेको उनको भनाइ छ ।

उनी अब विश्वको ख्यातीप्राप्त एयरलाइन्सको म्यानेजमेन्टलाई निश्चित वर्षसम्म जिम्मेवारी दिन जरुरी छ भन्छन् । अब पोखरा, भैरहवा विमानस्थल बन्यो । अन्तरराष्ट्रिय प्mलाइट आएको छैन । भारतले कति बोइङ अडर गरेको छ एयरबस मागेको छ । अब न्युयोर्कबाट काठमाडौंमा अवतरण गर्ने बेला हो नी त । धेरै कुरा छ त्यसैले समय सापेक्ष काम गर्न सकिएको छैन । यी यावत कुराहरु डिल गर्न लिडरसिप प्रमुख कुरा भएको उनले सुनाएका छन् । पाण्डेले थपे, “त्यसका लागि अहिले आफू आएको छु । सबै कुरा हेर्दा लिडरसिपको क्षमता भिजन, डिलिङ क्षमता पनि हुन्छ । ती कुरा महत्वपूर्ण हो पदीय जिम्मेवारी मात्रै ठूलो कुरा होइन । संस्थालाई समय दिनुपर्ने पनि हुन्छ । यी सबै कुराको व्यवस्थापन गर्दै आफूले यो अभियानमा उभ्भिनेछु । ”

नयाँ पुस्तालाई सुझाव के छ ?

उनी भोलि पर्यटन क्षेत्रमा आउने पुस्तालाई पर्यटनका धेरै आयाम भएकाले जसरी विकास हुनुपर्ने हो नुहँदा युवा पुस्ता फ्रष्टेट भइसकेका बताउँछन् । ती समस्या समाधान गर्न सके ठूलो संख्यामा लाभ पाउने अवस्था रहेको तर अहिले भारत चीनबाट पर्यटक आउने अवस्था धेरै रहेको छ । अब हामीले गर्नुपर्ने दुई कुरा छन् । एउटा प्राकृतिक कुराको संरक्षण गर्दै हस्पिटालिटीको नयाँ आयम खोज्ने र अर्को कृत्रिम सम्भावनाहरु पनि खोज्नुपर्ने हुन्छ ।

पाण्डे भन्छन्, ‘पर्यटकको आ–आफ्नै चाहना छ । अबको क्रस बोर्डर पर्यटन भनेको हस्पिटालिटी पर्यटन हो । नाइट लाइफ । ४, ५ घण्टामा पटनाबाट आइपुग्छ । २ रात बस्छ, घुम्छ, स्टे, बार क्यासिनो गर्छ । ’

“न्युयोर्क मान्छे किन जान्छ ? त्यही टाइम्स स्क्वायरको फोटो खिच्न, लिवर्टी आइल्याण्ड घुम्न जाने होइन । अब हाम्रो तराइको त्यत्रो भाग खाली छ । त्यहाँ हामीले सुन्दर टाउनको कम्पना गरौँ त । नमूना बनाऔँ न, पर्यटक आइहाल्छन् नी । अहिलेसम्म प्राकृतिक आफैँमा राम्रो छ । तर सबै त्यसका लागि मात्रै आउँदैनन् ।”

त्यसैले पर्यटक विकासमा नयाँ आयाम छ । राज्यले निजी क्षेत्रलाई लगानी गर्ने वातारण बनाइदिनुपर्छ । नेपालमा जग्गाको मूल्यका कारणले लगानी गर्न गाह्रो छ । न्युयोर्क र यहाँको जग्गा हेर्ने हो भने यहाँ ३ गुणा बढी महँगो रहेको उनले बताएका छन् ।

पर्यटन क्षेत्रमा सामाजिक सञ्जाल

उनका अनुसार अहिले ज्ञान र प्रविधि विश्यव्यापी छ । अब हामीले त्यसबाट लाभ लिने पर्छ । परिवर्तन गर्न गाह्रो छैन ।

जसरी सामाजिक जीवनमा सोसल मिडिया वा डिजिटल मार्केटको प्रभाव छ । पर्यटन क्षेत्रमा झन् बढी छ । मान्छेको जीवन नै स्मार्ट फममा गइसक्यो । लेख पढ्न पर्यो भने पत्रिका पढ्ने हो समाचारका लागि पत्रिका किन पढ्नुपर्यो ।

रियल टाइममा समाचार आउँछ । अहिले त एआई आइसक्यो । हामी हिजोकै मोडालिटीमा विजनेश मार्केटिङ गर्छु भनेर त सम्भव नहुने उनी बताउँछन् ।

Health Tips Ad Road Block