ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एफएनसीसीआइले स्थापना गरेको १० अर्बको लगानी कम्पनीले स्टार्ट अपमा लगानी गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित लगानी कम्पनीले स्टार्ट अपमा लगानी गर्ने जानकारी गराउनु भयो ।

बुधबार काठमाडौंमा आयोजित स्टार्टअप नेसन २०३० को उद्घाटन सत्रमा मन्तव्य दिँदै ढकालले सो कुरा बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब रुपैयाँको लगानीमा लगानी कम्पनी स्थापना भएको ढकालले जानकारी दिए । तर यो स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्न सक्ने ढकालले स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघ ७७ वटै जिल्ला र नगरपालिकामा जम्मा १२३ स्थानमा रहेको पनि ढकालले बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघको सबै प्रदेशमा कार्यालय रहेको र यस पहललाई अगाडि बढाउने क्षमता रहेको बताए । ‘त्यसैले हामी प्रदेश सरकारसँगको सहकार्यमा यी केन्द्रहरू स्थापना गर्न सक्षम छौं,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा पनि केन्द्र स्थापना गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

अर्थतन्त्रलाई टेवा दिन प्रत्यक्ष वैदेशिक लगानीसँगै उद्योग वा व्यवसायमा लगानी गर्न चाहने मुलुकभर रहेका साना लगानीकर्ताको कोषमा पनि ट्याप गर्न सक्ने ढकालले बताए । ‘यद्यपि व्यक्तिगतरूपमा लिँदा कोष थोरै हुने भएकाले हामीले ठूलो कोष बनाउन सबै पैसा जम्मा गर्नुपर्नेछ’, उनले भने ।

यो ठूलो कोषले देशलाई आवश्यक पर्ने ठूला विकास आयोजनामा लगानी गर्न सकिने ढकालले बताए । कोष वर्षौंदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरूमा लगानी गर्न पनि प्रयोग गर्न सकिन्छ । यसले औद्योगीकरणमा मात्रै नभई देशभित्रै रोजगारी सृजना गर्न पनि सहयोग पुग्ने ढकालले बताए ।

स्टार्टअप कार्यक्रमका लागि करिब एक दशकअघि बजेट विनियोजन गर्न थालेको तर पछिल्लो समय मात्रै स्टार्टअपको औपचारिक परिभाषा भएको ढकालले बताए । चार महिनाअघि लगानी सम्मेलनमा परिमार्जन गरिएका आठ ऐनमध्ये एउटा औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको कानुनी परिभाषा समावेश गरिएको ढकालले जानकारी दिए ।

त्यसपछि स्टार्टअप नीति पारित भएको भन्दै ढकालले नेपाल उद्योग वाणिज्य महासंघले यस नीतिको पहिलो मस्यौदा सरकारसमक्ष पेश गरेकोमा खुशी व्यक्त गरे ।

ढकालले स्टार्टअप र नयाँ उद्यमीलाई सहज बनाउन युवाहरुलाई सहयोग गर्न इन्क्युबेशन र इनोभेसन सेन्टरहरु स्थापना गर्नुपर्ने पनि बताए । प्रारम्भिक चरणका रूपमा नेपाल उद्योग वाणिज्य महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघसँगको सहकार्यमा इन्क्युबेशन सेन्टर स्थापनाको प्रक्रिया अघि बढाएको ढकालले जानकारी दिए । यसका लागि उनले संघीय र प्रदेश सरकार दुवैलाई सहयोग गर्न आग्रह गरे ।

स्टार्टअप नेसन कार्यक्रम नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, विश्वविद्यालय अनुदान आयोग, इसिमोड र पियुएम नेदरल्यान्डस् द्वारा आयोजना गरिएको हो ।

Health Tips Ad Road Block