api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

टान निर्वाचनमा राजेन्द्र प्रसाद सापकोटा समूहको उम्मेदवारी घोषणा, यस्तो छ समूहको घोषणापत्र

काठमाडौं । पर्वतीय एवं पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी दुई वर्षे कार्यकालका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

शनिबार घोषणा गरिएको सापकोटा समूहको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा भीम प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवन बहादुर खड्का, दावा ग्याल्सेन लामा, छुप्ते लामा र पवित्रा तामाङ रहेका छन् ।

समूहको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटाले नीतिगत सुधार आफूहरुको पहिलो प्राथमिकता रहने बताए । सापकोटाले पदमार्गको विकास एवं संरक्षणमा लाग्ने प्रतिबद्धता जनाएका छन् । नेपालको ६० प्रतिशत हिस्सा एडभेन्चर पर्यटनको रहेको उल्लेख गर्दै अध्यक्षका उम्मेदवार सापकोटाले माध्यामिक तहमा पदयात्रा पर्यटन पढाउने विषय लागु गराउन पहल थाल्ने बताए । उनले भ्याटको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण र भ्याट फिर्ता गराउन लागिपर्ने, टिम्सको रकम व्यवसाय र मजदुरको स्वास्थ्य एवं सुरक्षामा लगाउन पहल गर्ने, आइटीको प्रयोगमार्फत टानमा एडभेन्चर टुरीजमको सूचना केन्द्र विकास गरेर जाने लगायतका योजना सुनाएका छन् ।

यस्तो छ टान निर्वाचन–२०२४ मा पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटा समूहको घोषणापत्रः

‘व्यवसायिक आवाज नीतिगत सुधार, सुरक्षित पदमार्ग पर्यटनको आधार’

१. पदयात्रा व्यवसायलाई बचाई राख्नका लागि पदमार्गहरुलाई बचाउन आवश्यक छ । पदमार्ग नै नरहे कसरी हाम्रो व्यवसाय रहन्छ ? हाल रहेका पदमार्गहरु शुरक्षित राखी थप नयाँ पदमार्ग निर्माण गर्न स्थानीय तह, नेपाल सरकार, पर्यटन विभागसँग समन्वयन गरी कार्यन्वयन गरिने छ । हालसम्म नेपाल सरकारले पदमार्गहरुलाई अपनत्व गरेको छैन । सबै पदामार्गहरुलाई राष्ट्रिय महत्वको पदमार्ग घोषणा गराईने छ ।

२ः युवा पुस्तालाई नेपालामा पदयात्रा पर्यटनको महत्व छ र यसका माध्यमबाट स्वदेशमै रोजगारी प्राप्त हुनेछ भनेर बुझाउनका लागि माध्यामिक शिक्षादेखि नै पदयात्रा पर्यटनको अध्ययन गराउने ब्यवस्था लागु गराउन पहल गरिने छ ।

३. ट्रेकि‌ङ्ग कम्पनीले पर्यटकहरुलाई सेवा प्रदान गर्दा चेन सप्लाईका क्षेत्रहरुमा भुक्तानी गरेपछि त्यस्ता क्षेत्रहरुबाट पनि अनिवार्य भ्याट बिल उपलब्ध गराउने सरकारी ब्यवस्थाका लागि ससक्त र परिणाममुखी प्रयास गरीने छ ।

४. पदयात्रास‌ँग सम्बन्धीत सबै अनुमतिपत्रहरु र हिमाल आरोहण अनुमतिका लागि भुक्तानी गर्नुपर्ने सरकारी राजस्वमा समेत लगाई राखिएको १३ प्रतिशत भ्याट फिर्ता गर्ने र अब आईन्दा सरकारी राजस्वमा भ्याट लगाउने गरेको अव्यवहारिक र अन्यायपूर्ण नियम खारेजीको लागि व्यवसायिक आवाज बुलन्द गरी समाधानको लागि अग्रसर हुनेछौं ।

५. हाल अनलाईन प्रणालीमार्फत टानमा आबद्ध ट्रेकि‌ङ्ग कम्पनीहरुले आफैं टिम्स कार्ड जारी गर्नसक्ने व्यवस्था छ । यो व्यवस्थालाई चुस्तदुरुस्त पारी कार्यान्वयन गर्ने र गाईड वा सहयोगी लिएर ट्रेकिङ कम्पनीमार्फत् मात्र ट्रेकिङ्ग जानु पर्ने व्यवस्था लागु गर्न अझै दरिलो प्रायस गरीने छ ।

६. विगतमा टिम्सबाट भएको आम्दानी रकम सम्बन्धमा टान र नेपाल पर्यटन बोर्डबीच सृजना भएका सम्पूर्ण समस्याहरु समाधान गरिने छ । हालसम्म अनेक झमेलासहित पर्यटन बोर्डले टानलाई भुक्तानी दिन आनाकानी गरीरहेको रकम र भविष्यमा टिम्सबाट आम्दानी हुने रकम समेतलाई पर्वतीय पर्यटन श्रमिकहरुको सुबिधा र सामाजिक सुरक्षा, पदमार्गहरुको स्तरोन्नती, पोर्टर सेल्टरहरुको निर्माण गर्न तथा अन्तर्राष्ट्रिय बजारमा पदयात्रा लगायत पार्वतीय पर्यटन प्रबद्र्धन गर्न टानको सिफारिस र सहभागितासहित बोर्डमार्फत नै खर्च गरिने व्यवस्था गरीने छ ।

७. निषेधित क्षेत्र बाहेक नियन्त्रीत/निर्देशित क्षेत्रहरु डोल्पा, मुस्ताङ र मनास्लु लगायत अन्य पदयात्रा क्षेत्रहरुमा पदयात्रा गर्ने विदेशीहरुका लागि अध्यागमन विभागबाट जारी हुने पदयात्रा अनुमती पत्रका सम्बन्धमा कम्तिमा २ जना पर्यटकहरुले मात्र प्रवेश गर्न पाउने हालको व्यवस्था परिवर्तन गरी एक जना मात्र पर्यटकले पनि ट्रेकिङ कम्पनीमार्फत परमिट जारी गरेर पदयात्रा सन्चालन गर्न पाउने व्यवस्था लागु गराईने छ ।

९. कुटनीतिक नियोग, विदेशमा रहेका प्रसिद्ध आरोही एवम् पदयात्रा क्षेत्रमा कार्य गरेका सेलिब्रेटीहरुसँग समन्वय गरी ट्रेकिङ्ग तथा पर्वतीय पर्यटनको विशेष प्रवद्र्र्धन गरिने छ ।

१०. पदयात्रा पर्यटन श्रमिक र व्यवसायीहरु एक सिक्काका दुई पाटा हुन् । व्यवसायीहरु र श्रमिकबीचमा उच्च समझदारी कायम गरी व्यवसायमैत्री वातावरण निर्माण गरिने छ ।

११. हालसम्म प्रचलित २०३५ सालको पर्यटन ऐनलाई विस्थापित गर्न र नयाँ पर्यटन ऐन छिटो लागु गराउन सकृयताका साथ सरकारको ध्यानाकर्षण गराईने छ ।

१२. टिम्सबाट आम्दानी भएको रकम र दातृ निकायको सहयोगमा सगरमाथाको आधार शिविर जोग्ला, मनास्लुको धर्मशाला, मेरा बेसक्याम्प, धौलागिरीको ईटालियन क्याम्प लगायत अन्य आवश्यक क्षेत्रहरुमा क्रमशः पोर्टर सेल्टर निर्माण गरिने छ ।

१३. पदयात्रा सेवामा रहँदा जीवनको जोखिम भएमा वा अत्यावश्यक भएको खण्डमा पदयात्रा मजदुरहरुको रेस्क्यु गर्ने र उनीहरुको क्षमता अभिवृद्धिसमेत गर्नका लागि टिम्स आम्दानीको १० प्रतिशत रकम खर्च गर्ने व्यवस्थासहित पदयात्रा मजदुरको सुरक्षाको ग्यारेन्टी टानले गर्ने छ ।

१५. नियन्त्रीत/निर्देशित क्षेत्रभित्रबाट पर्यटकहरु एवम् श्रमिकहरुको उद्धार गर्दा हाल रहेको झन्झटीलो सरकारी व्यवस्थालाई सुधार गरी यथासिघ्र उद्धार गर्ने व्यवस्था मिलाईने छ ।

१६. दुई वर्षअघि निर्वाचित भएको वर्तमान टान कार्यसमितिले सम्पन्न गरिसकेका कार्यहरुलाई संरक्षण र निरन्तरता दिँदै सुरुवात गरेर पनि पूर्णता प्राप्त भइनसकेका कार्यहरुलाई निरन्तरता दिने र उच्च प्राथमिकतामा राखी सम्पन्न गरीने छ ।

१७. टानको सचिवालयलाई पूर्णतया डिजिटल प्रणालीमा विकास गरी थप प्रविधिमैत्री बनाईने छ ।

१८. आर्थिक पारदर्शितालाई मुलमन्त्र बनाइ ‘आर्थिकरुपमा सबल टान, व्यवसायीहरुको ब्यापक सान’ भन्ने नारालाई व्यवहारिकरुपमा सफल बनाईने छ ।

१२. टानको वेवसाईटलाई नेपालको पर्यटन क्षेत्रकै प्रबिधि मैत्री र अग्रणी सूचना केन्द्रको रुपमा विस्तारित गरिने छ । सम्पूर्ण सदस्य कम्पनीहरुलाई मेम्बर लग इन पेज उपलब्ध गराइनेछ । जसबाट सदस्य कम्पनीहरुले टानमार्फत् व्यवसायिक लाभका साथ तत्काल समस्याहरुको समाधन गर्न समेत सहयोग प्राप्त गर्नेछन् ।

२०. रामेछाप एयरपोर्ट पार्वतीय पर्यटन र आजको विकल्प मात्र नभएर आवश्यकताको विषय बनेको छ । यसर्थ रामेछाप एयरपोर्टको स्तरोन्नतिसहितको भौतिक विकास र सुबिधा सम्पन्न बनाउन संघ, प्रदेश र स्थानीय सरकारहरुसँग छलफल तथा सहकार्य गरीने छ ।

पर्वतीय र पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को ४६ औं साधारण सभा एवं निर्वाचन आगामी भदौ १७ गते तदनुसार सेप्टेम्बर २ तारिकमा सम्पन्न हुन गइरहेको छ । यो साधारण सभाले दुई वर्षका लागि नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ ।

Health Tips Ad Road Block