skip this News Page Tips Ad Road Block

सिमेन्ट उद्योग संघको नवनिर्वाचित कार्यसमितिले लियो सपथ, डेढ खर्बको निर्यात गर्ने दाबी

काठमाडौं । नेपाल सिमेन्ट उद्योग संघको नवनिर्वाचित कार्यसमितिले सपथ लिएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रघु नन्दन मारुसहित अन्य पदाधिकारी एवं सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । निवर्तमान अध्यक्ष ध्रुव थापाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

 

साउन १८ गते सम्पन्न संघको बिसौं वार्षिक साधारण सभाबाट निर्वाचित उपाध्यक्षद्धय डा. तारा प्रसाद पोखरेल र विकास दुगड, महासचिव राजाराम खड्का, कोषाध्यक्ष अरुण कुमार कर्ण, सदस्यहरु निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिंग लाब्देन तामांग, आदित्य संघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल,ई.केशव प्रसाद उप्रेती, हुवांग सी जंग, अनिल रुंगटाले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले बीस वर्षको अवधिमा सिमेन्ट उद्योग आत्मनिर्भर भइ निर्यात गर्ने अवस्थामा पुगेको बताए । सबै किसिमको वातावरण भएमा चालु आर्थिक वर्षमै १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको निर्यात गर्न उद्योगीहरु सक्षम रहेको उनले बताए । आगामी दश वर्षसम्म निर्यातमा सबैभन्दा ठूलो हिस्सा सिमेन्टले ओगट्न सक्ने उनको दाबी छ । उद्योगीलाई स्थिर नीति बनाइदिन सरकारलाई आग्रह गर्दै उनले आन्तरिक खपत बढाउने विषयमा सरकार संवेदनशील बन्नुपर्ने उनले बताए ।

संघका नवनिर्वाचित अध्यक्ष रघु नन्दन मारुले सिमेन्ट उद्योगहरु ५० देशि ६० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा रहेकोप्रति चिन्ता जनाउँदै जग्गाका सम्बन्धमा उद्योगहरु दोहोरो/तेहोरो मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले नीतिगतदेखि सबै वातावरण निर्माण गरेमा यस उद्योगसँगै देशको समृद्धिका लागि सिमेन्ट उद्योगले धेरै ठूलो योगदान गर्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको मागअनुसार पुँजी र प्रबिधिको संरक्षणसँगै व्यवसायीलाई प्रोत्साहित गर्ने कार्यमा सरकारले सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले अबको तीन महिनामा निजी क्षेत्रले माग गरेका सबै नीतिगत निर्णय गरिने आश्वासन दिए । त्यसैगरी निजी क्षेत्रको मनोबल बढाउन सरकारले सबै काम गर्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेकपा एमाले र नेपाली कांग्रेस दुई ठूला दल मिलेर बनेको सरकारका कारण सकारात्मक वातावरण बन्दै गएको बताएका छन् । मौद्रिक नीतिको सहजीकरणले अब अर्थतन्त्र उकासिने आश गर्न थालिएको अध्यक्ष ढकालको भनाइ छ ।

Health Tips Ad Road Block